कोभिड–१९ : ‘लकडाउन’मा सुरक्षार्थ खटिने प्रहरीको हौसला बढाउन नागरिकको सहयोग

Halesi Khabar

खोटाङ, २६ चैत । ‘लकडाउन’को समयमा सुरक्षार्थ खटिने प्रहरीका लागि खोटाङ जिल्लाका नागरिकले खाजा तथा पानी उपलब्ध गराइरहेका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले आव्हान गरेको ‘लकडाउन’काक्रममा सुरक्षार्थ खटिएका प्रहरीले उपयोग गर्न पाउनेगरी जिल्लामा क्रियाशील विभिन्न सङ्घ संस्थाले खाजा तथा पानी उपलब्ध गराउने गरेका हुन् ।

सरकारले आव्हान गरेको ‘लकडाउन’लाई सफल बनाउन सुरक्षार्थ खटिएका प्रहरीलाई बुधबार खोटाङ यातायात प्रालिले रु ३५ हजार मुल्य बराबरको पानी, बिस्कुट, चाउचाउ, जुस, सावुन, स्यानिटाइजर लगायतका सामग्री प्रदान गरेको छ । यातायात प्रालिले २० काटुन मिनरल वाटर, छ काटन बिस्कुट, दश काटन फ्रुटी, २० काटन चाउचाउ, तीन पिस मिक्स जुस, ७० डल्ला सावुन, दुई बोत्तल स्यानिटाइजर र छ थान ग्लोब्स जिल्ला प्रहरी कार्यालयमै लगेर प्रहरीलाई प्रदान गरेको हो ।

देशमा आइपरेको सङ्कटका बेलामा ज्यान जोखिममा राखेर खटिएका प्रहरीको हौसलाका लागि फास्टफुड तथा व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरिएको यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले बताउनुभयो । “देशमा लकडाउन लागू भएपछि दिनको चर्को घाम र रातको निन्द्र नभनी भोकभोकै हाम्रो सुरक्षार्थ प्रहरी खटिएका छन्”, उहाँले भन्नुभयो, “उनीहरुलाई राहत स्वरुप नभइ मानवीय हिसाबले हौसला प्रदान गर्न खाजा, पानी, सावुन र मास्क उपलब्ध गराएका हौँ ।”

विशेषगरी लकडाउनका क्रममा पसल बन्द रहेको अवस्थामा भनेको समयमा खाजा र पानी खान नपाइरहेका प्रहरीलाई लक्षीत गरेर प्रहरीलाई खाजा, पानी र सरसफाईका सामग्रीको व्यवस्था गर्ने गरिएको सङ्घ संस्थाले जनाएको छ । जिल्लाका विभिन्न सङ्घ संस्थाबाट प्राप्त भएको सामग्री नेपाल प्रहरी, सशस्त्र प्रहरी र लकडाउनका क्रममा समस्यामा परेका नागरिकको सहयोगमा उपयोग गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताउनुभयो ।

यसैबीच, खोटाङ यातायात प्रालिले लडकाउन भएपछि घर जान नपाएका चालक, सह–चालक, ग्यारेजमा काम गर्ने मिस्त्री लगायतलाई समेत खाद्यान्नका प्रदान गरेकोे छ । यातायात क्षेत्रका मजदुरलाई प्रतिव्यक्ति १२ केजी चामल, १ प्याकेट तेल, १ केजी नुन, १ केजी दाल, १ केजी चिनी, सावुन, चियापत्ती र बिस्कुट प्रदान गरेको हो ।

यातायात मजदुरलाई रु २२ हजार बराबरको खाद्यान्न सहयोग गरिएको यातायात प्रालिका कोषाध्यक्ष गोविन्द कटवालले बताउनुभयो । लकडाउनका कारण घर जान नपाएका १६ जना श्रमिकलाई यातायात प्रालिले खाद्यान्न सहयोग गरेको हो ।

यसअघि सक्रिय बचत तथा ऋण सहकारी संस्था दिक्तेल र निर्माण व्यवसायी सङ्घ खोटाङले पनि प्रहरीलाई पानी, जुस, बिस्कुट लगायतका सामग्री प्रदान गरेको थियो । निर्माण व्यवसायी सङ्घले ५० काटन मिनिरल वाटर, ४० काटन फ्रुटी, ५० काटन रम्बा चाउचाउ र ७५ थान मास्क उपलब्ध गराएको थियो ।

सहकारी संस्थाले २० काटन मिनिरल वाटर, दश काटन फ्रुटी, पाँच काटन बिस्कुट र दश काटन चाउचाउ उपलब्ध गराएको थियो । दिक्तेल बजार कार्यक्षेत्र बनाएर सञ्चालित सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत खडा गरेको कोषमार्फत प्रहरीलाई खाजा र पानी उपलब्ध गराइएको सचिव सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

दश स्थानीय तह रहेको जिल्लाका विभिन्न ठाउँमा खटिएका सुरक्षाकर्मीलाई समेत सम्बन्धित ठाउँका सङ्घ संस्थाले खाजा र पानी उपलब्ध गराइ रहेका छन् । नेपाल तरुण दल जिल्ला सचिव कविन राई र क्षेत्रीय कार्य समितिका सभापति सुरेश राई दिप्रुङ चुइचुम्मा गाउँपालिकाको रेग्मिटार, रमाइलो, रातमाटा, बोर्मी र पञ्चमीमा खटिएका सुरक्षाकर्मीलाई खाजा तथा पानी उपलब्ध गराएको थियो ।

चौबीसै घण्टा सुरक्षामा खटिने प्रहरीले लकडाउनको अवज्ञा गर्ने जिल्लाका २३ जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार लगायत व्यापारिक केन्द्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

तपाईको प्रतिक्रिया