जनप्रतिधिको सेवा सुविधाबाट स्थानीयलाई मास्क र सावुन वितरण

Halesi Khabar

खोटाङ, २५ चैत । बराहपोखरी गाउँपालिका–४ फाक्टाङका वडाध्यक्ष तथा सदस्यहरुले स्थानीयवासीलाई मास्क तथा हात धुने सावुन वितरण गरेका छन् । वडाअध्यक्ष तथा वडा सदस्यले राज्यबाट आफूले पाएको एक÷एक महिनाको सुविधा तथा स्थानीय सङ्घसंस्थाको सहयोगमा वडावासीलाई करीब रु ६३ हजार बराबरको मास्क तथा हात धुने सावुन खरिद गरेर गरेका हुन् ।

कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रण गर्न सचेतना अभियानस्वरुप वडास्तरीय जनप्रतिनिधिको सेवा सुविधा र सङ्घसंस्थाको सहयोगमा नागरिकलाई स्वास्थ्य सुरक्षा र सरसफाइका सामग्री जुटाएर प्रदान गरिएको वडाध्यक्ष भुबलराज राईले बताउनुभयो । “विश्विभर फैलिएको कोरोना भाइरस सम्बन्धी घरघरमा सचेतना फैलाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “सचेतना अभियानसँगै स्थानीयवासीको घर–घरमा पुगेर मास्क तथा सावुन वितरण समेत गरिएको हो ।”

मास्क तथा सावुन खरिदका लागि वडाध्यक्ष राईले एक महिनाको सेवा सुविधा वापतको १५ हजार तथा वडा सदस्य राजकुमार मगर, विनोदकुमार बुढाथोकी, पदमलक्ष्मी श्रेष्ठ र जानुका बिकको एक महिनाको सेवा सुविधा वापतको रु सात÷सात हजार खर्च गरिएको छ । जनप्रतिनिधिको अभियानमा स्थानीय नवजनजागृति युवा क्लव भञ्ज्याङखर्क, धर्मशाला सामुदायिक वन उपभोक्ता समिति, जाल्पा प्रावि माक्सिङटार र आमा समूह माक्सिङटारले पनि रु पँच÷पाँच हजार सहयोग गरेको वडा कार्यालयले जनाएको छ ।

गाउँपालिकाबाट प्राप्त भएको बाल्टिन, आरी, मग, सेनीटाइजर, सावुन लगायतका सरसफाइका सामग्रीलाई वडा कार्यालय, कम्पुघाट हेल्थडेस्क, स्वास्थ्य चौकी, प्रहरी चौकी हुक्नाचौंर, सामुदायिक स्वास्थ्य इकाई फाक्टाङ, बालकल्य मावि, बेतुवा मावि लगायतका सार्वजनिकस्थलमा राखिएको जनाइएको छ ।

यसअघि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) याम्खा वडा समितिले पनि सचेतना अभियानसँगै सावुन वितरण गरेको थियो । जिल्लाका अन्य स्थानीय तह तथा वडामा भने अहिलेसम्म कुनै अभियान सञ्चालन गरिएको छैन ।

तपाईको प्रतिक्रिया