कोभिड–१९ : काङ्ग्रेस सभापतिविरुद्ध भातृ सङ्गठन खनियो

Halesi Khabar

खोटाङ, २४ चैत । नेपाली काँग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठको अभद्र अभिव्यक्तिप्रति भातृ सङ्गठनहरुले विरोध जनाएका छन् । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईलाई अभद्र अभिव्यक्ति दिएको भन्दै विभिन्न दश वटा भातृ सङ्गठनले विज्ञप्ति मार्फत विरोध जनाएका हुन् ।

सभापति श्रेष्ठले कोरोना भाइरस (कोभिड–१९)को आशंकामा कटारी अस्पतालमा आइसोलेसनमा बसेर भागेका र उनका आफन्त सहित नौँ जनालाई क्वारेन्टाइनमा नराख्न नगरप्रमुख राईमाथि दबाब दिँदै अभद्र अभिव्यक्ति दिएको भन्दै उक्त गतिविधि राजनीति र सामाजिक हित विपरित भएको विज्ञप्तिमा उल्लेख छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का विरुद्ध मानव कल्याण र उद्धार गरेवापत धन्यवाद दिनु पर्नेमा उल्टै अश्लील शब्द प्रयोग गर्ने लगायतको शैली राजनीति तथा सामाजिक हित विपरित भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा क्षेत्र नं २ का क्षेत्रीय सभापति तीर्थराज भट्टराई, क्षेत्र नं १ का उपभासति लोकेन्द्र राजभण्डारी, तरुण दल अध्यक्ष भीषण राई, नेवि सङ्घ अध्यक्ष राजकुमार बस्नेत, ट्रेड युनियन काँग्रेस अध्यक्ष कृष्ण आचार्य, नेपाल महिला सङ्घ अध्यक्ष रामकुमारी राई, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ अध्यक्ष मिलन कसजु, प्रेस युनियन अध्यक्ष उत्तम चौलागाई, नेपाल स्वास्थ्यकर्मी सङ्घका प्रकाश घिमिरे लगायतले हस्ताक्षर गरेका छन् । उनीहरुले जारी गरेको विज्ञप्तिमा पार्टीको नेतृत्वमा रहेर जिम्मेवार हुन सकिन्न भने पनि गैरजिम्मेवार हुने स्वछन्दता कसैलाई छुट नहुने उल्लेख छ ।

सभापति श्रेष्ठले भने पार्टीभित्रको आन्तरिक कुरा मात्र भएको बताउनुभएको छ । “आन्तरिक विषयलाई लिएर केही व्यक्तिले बदनाम गर्ने काम गरिरहेका छन्”, उहाँले भन्नुभयो, “यसलाई पार्टीभित्रै छलफल गरेर समाधान गर्छौँ ।”

सभापति श्रेष्ठले दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा क्वारेन्टाइन बनाउन समेत अवरोध पु¥याएका थिए । श्रेष्ठ उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया