समाजसेवी राईद्धारा दुई घरको भाडा छुट दिने घोषणा

Halesi Khabar

खोटाङ, २३ चैत । खोटाङका समाजसेवी जनकराज राईले दुई वटा घरको भाडा चैत महिनाको छुट दिने घोषणा गर्नुभएको छ । ललितपुरमा बस्दै आउनुभएका समाजसेवी राईले महालक्ष्मी नगरपालिका–८ लुभु र ललितपुर महानगरपालिका–१५ सातदोबाटोमा रहेको दुई वटा घरमा बसिरहेका डेरावाला व्यक्तिलाई एक महिनाको भाडा छुट दिने घोषणा गर्नुभएको हो ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’का कारण समस्यामा परेका डेरावाला व्यक्तिलाई भाडा छुट दिने निर्णय गरिएको समाजसेवी राईले बताउनुभयो । कोरोनाको सङ्क्रमणका कारण विश्व नै आतङ्कित भइरहेको अवस्थामा ‘एक मानवले अर्का मानवलाई सहयोग गर्नु’ मानवीय दायित्व भएकाले आफ्नो घरको कोठा भाडामा लिएर बस्ने व्यक्तिलाई एक महिनाको भाडा मिनाहा गरिदिएको समाजसेवी राईको भनाइ छ ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम स्थायी घर भएका समाजसेवी राई ब्रिटिस आर्मीमा भनार सात वर्षमै फर्काइएका व्यक्ति हुनुहुन्छ । ब्रिटिस आर्मीबाट फर्किएपछि शहरमै बस्दै आउनुभएपनि समाजिक क्षेत्रमा क्रियासिल हुनुहुन्छ ।

जिल्लाका हरेक क्षेत्रमा आर्थिक तथा भौतिक सहयोग गर्दै आउनुभएका समाजसेवी राईले करीब ४०० वर्षअघिका हलेसी थुमका शासक होलेसुङको स्मृति तथा सडक निर्माणमा सबैभन्दा बढी आर्थिक र भौतिक सहयोग गर्नुभएको थियो । उदयपुरको लिम्चिमबुङ गाउँपालिका जोड्ने सडक निर्माणमा सहयोग गर्नुभएका समाजसेवी राईको योगदानको कदरस्वरुप सो सडकको नाम समेत ‘होलेसुङ–जनकराज राई मार्ग’ राखिएको छ ।

तपाईको प्रतिक्रिया