लकडाउन : दिक्तेल बजारका पसलैपिच्छे मुल्य सूचि टाँसियो

Halesi Khabar

खोटाङ, २३ चैत । ‘लकडाउन’को अवधिमा हुन सक्ने मुल्य वृद्धि रोक्न खोटाङको दिक्तेल बजारमा सञ्चालित होलसेल तथा खुद्रा पसलमा मुल्य सूचि टाँसिएको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नेपालमा पनि देखिएपछि सरकारले लागू गरेको ‘लकडाउन’को समयमा हुन सक्ने मुल्य वृद्धि नियन्त्रण गर्न दिक्तेल बजारमा पसलैपिच्छे मुल्य सूचि टाँस गरिएको हो ।

लकडाउनको बहानामा व्यापारीले मुल्य वृद्धि गर्न सक्ने सम्भावनालाई लक्षित गरेर दिक्तेल बजारका हरेक पसलमा मुल्य सूचि टाँस गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो । “साबिक मुल्यमा नबढाइ मुल्य सूचि तयार गरेर हरेक पसलमा टाँस गरिएको छ”, उहाँले भन्नुभयो, “तोकिएको मुल्यभन्दा कम मुल्यमा बिक्री गर्न पाउँछन् । तर, वाणिज्य सङ्घले तोकेभन्दा बढी मुल्य लिएर बिक्री गरेको पाइएमा त्यस्ता व्यापारीलाई कडा कारवाही गरिनेछ ।”

उद्योग वाणिज्य सङ्घले टाँसेको मुल्य सूचिअनुसार खाना पकाउने ग्याँस प्रति सिलिन्डर रु एक हजार ६०० कायम गरिएको छ । त्यस्तै, चामल सोना मन्सुली प्रतिकेजी रु ५५, कान्छी रु ४५ र जिरा बास्मती प्रतिकेजी रु ८० कायम गरिएको छ ।

धनिया प्रतिकेजी रु ३००, चिउरा ताइचिन झुरुम–झुरुम प्रतिकेजी रु ८०, सादा प्रतिकेजी रु ६०, चिनी प्रतिकेजी रु ८५, तोरीको तेल (धारा) ५०० मिलीलिटर रु १२५, तोरी तेल अन्य ५०० मिलीलिटर रु ८५, सनफ्लावर तेल सेलो ५०० मिलीलिटर रु ९०, रिफाइनको तेल भटमास ५०० मिलीलिटर रु ९० कायम गरिएको छ । यस्तै, आयोनुन प्रतिकेजी रु ३०, जिरा मसला १ प्रतिकेजी रु ५००, जिरा मसला २ प्रतिकेजी रु ४५०, मेथी प्रतिकेजी रु २००, ज्वानो १ प्रतिकेजी रु ५०० तथा २ प्रतिकेजी रु ३०० कायम गरिएको हो ।

कालो दाल प्रतिकेजी रु १५० तथा मुसुरी दाल प्रतिकेजी रु १२० कायम गरिएको वाणिज्य सङ्घका दैनिक उपभोग्य वस्तु उपसमितिका संयोजक राजनप्रसाद आचार्यले जानकारी दिनुभयो । त्यसैगरी, चना प्रतिकेजी रु १२०, हरियो मटर प्रतिकेजी रु १३०, चाउचाउ वाईवाई प्रतिगोटा रु २०, लाइफ बोइ साबुन प्रतिगोटा रु ३०, लुगा धुने साबुन नाङ्गो ३०० ग्राम रु ४०, १७० ग्राम रु २० तथा डिटोल सानो रु ५० र ठूलो रु १०० कायम गरिएको वाणिज्य सङ्घले जनाएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा करीब एक महिनालाई पुग्ने दैनिक उपभोग्यवस्तु भण्डार (स्टक) रहेको उद्योग वाणिज्य सङ्घले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा पनि तत्कालका लागि दैनिक उपभोग्य वस्तु अभाव नरहेको जनप्रतिनिधिहरुले बताएका छन् ।

जिल्लाका हरेक स्थानीय तहले लकडाउनको समयमा हुन सक्ने कालोबजारी नियन्त्रण तथा दैनिक उपभोग्यवस्तु अभाव हुन नदिन अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा म्याद नाघेका सामग्री जफत गरेर नष्ट गर्ने काम समेत भइरहेको छ ।

यसअघि जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिकामा ‘लकडाउन’को मौका पारेर उपभोग्य वस्तुको मूल्य बढाएर बिक्री गर्ने व्यवसायी कारबाहीमा परेका छन् । रावाबेँसी गाउँपालिका–६ हौँचुरमा वडा कार्यालय नजिकै खुद्रा व्यवसाय सञ्चालन गर्दै आएका दिपेन्द्र चौधरी कारबाहीमा परेका हुन् ।

चामल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुको चर्को मुल्य वृद्धि गरेर बिक्री गरिरहेको जनगुनासो आएपछि चौधरीलाई वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले बताउनुभयो । चौधरीलाई सार्वजनिक रुपमा माफी मगाएर ग्राहकबाट बढी लिएको रकम सम्बन्धित ग्राहकलाई फिर्ता गर्न लगाउनुका साथै स्वास्थ्य चौकीलाई केही थान प्लास्टिकका कुर्सी तथा टेबल उपलब्ध गराउनुपर्ने सजाय दिइएको छ ।

तपाईको प्रतिक्रिया