कोरोना कहर : कतारमा ३०० नेपाली कामदारलाई खाद्यान्न प्रदान

Halesi Khabar

खोटाङ, २२ चैत । कतारमा कोरोना भाइरस (कोभिड–१९)को चपेटामा परेका परेका ३०० नेपालीलाई खाद्यान्न प्रदान गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणले आक्रान्त बनाएपछि कतारमा अस्थायी ‘लकडाउन’ लागू हुँदा समस्यामा परेका नेपालीलाई गैर–आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद कतारको पहलमा चामल, आँटा, तेल लगायतका खाद्य सामग्री प्रदान गरिएको हो ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि कतार सरकारले विभिन्न कम्पनीमा कार्यरत कामदारलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेपछि खाद्यान्न सङ्कट निम्तिने अवस्था देखिएपछि रेड क्रसियन्ट सोसाइटी कतारमार्फत खाद्यान्न सहयोग गरिएको गैर–आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद कतारका सदस्य एवम् राहत सामग्री बितरणमा सक्रिय खोटाङका गजेन्द्र खालिङ राईले बताउनुभयो । ‘लकडाउन’का कारण आवश्यक खाद्यान्न किनमेलमा जान नसक्ने र कार्यरत कम्पनीबाट समयमा तलव नपाउँदा समस्यामा परेका नेपालीको तथ्याङ्क सङ्कलन गरेर राहत स्वरुप सहयोग जुटाइएको हो ।

‘लकडाउन’का कारण खानपिनका लागि सामग्री जुटाउनै सकस पर्न थालेको भन्दै कतिपय नेपाली कामदार गैर–आवासीय नेपाली सङ्घ (एनसिसि) कतारको सम्पर्कमा आएको राईले जानकारी दिनुभयो । पीडित कामदारलाई जनही ३ केजी चामल, दुई केजी आँटा, १ लिटर तेल, १ केजी दाल, २ प्याकेट पास्ता, १ लिटर दूध, १ प्याकेट चियापत्ती, ४ क्यान टुना र ५ क्यान टोमाटो पेस्ट प्रदान गरिएको जनाइएको छ ।

कोरोना भाइरसका कारण कतारमा २० दिनदेखि मुख्य औद्योगिक क्षेत्र सनैया १ नम्बरदेखि ३२ नम्बरसम्म अस्थायी रूपमा ‘लकडाउन’ गरिएको छ । कतारमा कोरोनाको कारण उत्पन्न असहज परिस्थितिको कारण समस्यामा परेका अन्य नेपालीलाई क्रमशः दोस्रो चरणमा खाद्यान्न प्रदान गरिने जनाइएको छ ।

खाद्यान्न सहयोग गर्नका लागि हाल नेपाली कामदारको तथ्याङ्क सङ्कलन जारी रहेको र समस्यामा परेका मजदुरलाई आफ्नो नाम, मोबाइल नम्बर, घर नम्बर र आइडी नम्बर उपलब्ध गराउन भनिएको छ । प्रवासमा ‘कोरोना भाइरसबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने भनाइलाई सार्थक बनाउन खाद्यान्न राहत प्याकेज तथा वितरण लगायतका कामका लागि स्वयम्सेवी व्यक्ति तथा संस्थालाई सहकार्यका लागि एनसिसिमा सम्पर्क गर्न आग्रह गरिएको राईले बताउनुभयो ।

हालसम्म हाल कतारमा कार्यरत नेपालीमा सङ्क्रमण भए÷नभएको जानकारी बाहिर आएको छैन । गैर–आवासीय नेपाली सङ्घले समेत हालसम्म नेपाली सङक्रमित भएको जानकारी प्राप्त नभएकाले सुरक्षित रहन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया