लकडाउन : ज्यालादारी गर्ने मजदुरको वडामै पुगेर खाद्यान्न वितरण शुरु

Halesi Khabar

खोटाङ, २१ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ज्यालादारी मजदुरलाई उनीहरुको वडामै पुगेर खाद्यान्न वितरण शुरु गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले लागू गरेको ‘लकडाउन’का कारण दैनिक ज्यालादारी काम गर्न नपाउँदा हातमुख जोड्नै नसक्ने अवस्थामा पुगेका मजदुरलाई नगरपालिकाले उनीहरुको वडामै लगेर आवश्यक खाद्यान्न वितरण शुरु गरेको हो ।

बिहान बेलुकाको छाक टार्न ज्यालादारीको काम गर्दै आएका निम्न आर्थिकस्तरका परिवारलाई ‘लकडाउन’को अवधिमा भोको नराख्ने नीति अनुसार बिपन्न परिवारलाई चैत २० गतेदेखि चामल, दान, नुन, तेल लगायतका भान्छामा उपयोग हुने खाद्य सामग्री वितरण शुरु गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । “लकडाउनकै कारण नगरपालिकाभित्र कसैले पनि भोकभोकै बस्नु पर्ने छैन”, उहाँले भन्नुभयो, “आवश्यकताको पहिचान गरेर खाद्यान्न उपलब्ध गराउनेगरि प्रत्येक वडामा पु¥याउनेगरि यस पटक रु १५ लाख मुल्यको खाद्यान्न खरिद गरिएको छ ।”

१५ वडा रहेको नगरपालिकाका विभिन्न वडामा ज्यालादारी मजदुर बाहेक अन्य आयश्रोत नभएका परिवारलाई समेत पहिचान गरेर खाद्यान्न वितरण भइरहेको जनाइएको छ । खाद्यान्न तथा दैनिक उपभोग्यवस्तु आपूर्ती व्यवस्थापन गर्न प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरीको प्रतिनिधि समेत रहनेगरि समिति गठन गरिएको छ ।

शुक्रबार वडा नम्बर–३ बाम्राङका ८२ बिपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको नगरपालिकाले जनाएको छ । बाम्राङको रमितेडाँडामा आवश्यक सामग्री सहित पुगेर नगरप्रमुख रिजालले खाद्यान्न वितरण गर्नुभएको हो ।

ज्यालादारी काममा निर्भर परिवारलाई प्रतिपरिवार १० केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी नुन र १ डल्ला साबुन समेत वितरण गरिएको वडाध्यक्ष ललित राईले बताउनुभयो । वडाध्यक्ष राईका अनुसार ज्यालादारी मजदुरको काम गरेर परिवार धानिरहेका वडाका ८२ परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।

हालसम्म ‘लकडाउन’को मारमा परेका वडा नम्बर–१ दिक्तेल, वडा नम्बर–२ सोल्मा, वडा नम्बर–६ नेर्पा र वडा नम्बर–१४ बुइपाका बिपन्न परिवारलाई खाद्यान्न वितरण गरिसकिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रतिव्यक्ति १० केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी नुन र सावुन वितरण गर्न भने पनि वडामा फरक–फरक मापदण्ड बनाएर खाद्यान्न वितरण भइरहेको जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा अन्य स्थानीय तहले पनि खाद्यान्न वितरण गर्ने तयारी गरिरहेको जनाइएको छ । पूर्वी पहाडी जिल्ला खोटाङमा यस वर्ष गएको लामो समयको खडेरीका कारण अधिकांश स्थानीय तहमा खाद्यान्न अभाव भएको छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईले आफ्नो व्यक्तिगत खर्चमा ४२० केजी चामल ढुवानी गरेर वितरण गर्नुभएको छ । उपप्रमुख राईले वडा नम्बर–७ महादेवस्थानका २१ घर दलित र अन्य चार परिवारलाई उनीहरुको परिवार सङ्ख्याको आधारमा प्रतिपरिवार १५ केजीदेखि ३० केजीसम्मका दरले ४२० केजी चामल खरिद गरेर वितरण गर्नुभएको हो ।

हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी बजार आसपासका होटलमा भाँडा माझ्ने, कपडा धुने, लोडअनलोड गर्ने लगायतका काम गरेर परिवार चलाइरहेको अवस्थामा ‘लकडाउन’ लागू भएपछि समस्यामा परेको जानकारी आउनासाथ खाद्यान्न प्रदान गरिएको उपप्रमुख राईले बताउनुभयो । उपप्रमुख राईले घरमै पुगेर खाद्यान्न उपलब्ध गराउनुभएपछि बिपन्न परिवार हर्षित भएका छन् ।

वडा नम्बर–७ महादेवस्थान कै कातिके, गैरीगुठ र ऐसेलुखर्कका १४ बिपन्न परिवारलाई पनि खाद्यान्न सहयोग गर्ने तयारी गरेको उपप्रमुख राईले बताउनुभएको छ । खेतीपाती बाहेक अन्य आम्दानीको स्रोत नभएको सुख्खाग्रस्त क्षेत्र हलेसी आसपासका स्थानीयवासीमा यस वर्ष गएको लामो समयको खडेरीले खाद्यान्नको चरम अभाव भएको छ ।

तपाईको प्रतिक्रिया