खोटाङ, २१ चैत । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमित युवतीसँगै गत चैत–४ गते कतारबाट नेपाल फर्किएका खोटाङका दुई मध्ये एक जनाको नमूना (स्वाव) परीक्षणमा पठाउने तयारी गरिएको छ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि तिनै युवतीसँग कतारबाट काठमाडौँसम्मको यात्रा गरेका खोटाङको जन्तेढुङ्गा गाउँपालिका–३ का एक युवकको नमूना ल्याव परीक्षणमा पठाउने तयारी गरिएको हो ।
घर आएको १४ दिनभन्दा बढी बितिसकेपनि सङ्क्रमण भए÷नभएको यकिन गर्न उनको स्वाव विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउन लागिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताउनुभयो । कतिपय व्यक्तिमा बाहिर लक्षण नदेखिए पनि भित्र कोरोना भाइरस पोजिटिभ देखिने खतरा हुने सम्भावना देखिएकाले स्वाव परीक्षणमा पठाउन लागिएको जनाइएको छ ।
जिल्ला अस्पताल खोटाङका तालिम प्राप्त स्वास्थ्यकर्मीको टोली जिल्ला मालपोत कार्यालयको गाडीमार्फत नमूना सङ्कलन गर्न आज (शुक्रबार) जन्तेढुङ्गा गाउँपालिका पठाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । “बाहिर लक्षण नदेखिए पनि भित्र पोजिटिभ हुन सक्ने खतरा पनि हुने रहेछ”, उहाँले भन्नुभयो, “घर आएको १७ दिन भो भनेर मात्र हुन्न । स्वाव सङ्कलन गरेर परीक्षण गर्नका लागि स्वास्थ्यकर्मीको टोली जन्तेढुङ्गा पठाएका छौँ ।”
विदेशबाट आएर घरैमा बसिरहेका उनलाई गाउँपालिकाको पहलमा चैत–१२ गतेदेखि होम क्वारेन्टाइनमा राखिएको गाउँपालिका प्रमुख श)करमान राईले जानकारी दिनुभएको छ । सोही जहाजबाट फर्किएका केपिलासगढी गाउँपालिकाका एक जनालाई भने सुनसरी जिल्लाको धरानस्थित क्वारेन्टाइनमै राखिएको छ ।
क्यूआर ६५२ कलसाईनको कतार एयरवेजमार्फत फर्किएकी युवतीलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उनीसँगै नेपाल आएर जिल्ला भित्रिएका युवाका कारण सङ्क्रमणको त्रास छाएको छ । यसअघि चिनबाट फर्किएका एक युवकमा गरिएको परीक्षणबाट कोरोना सङ्क्रमण नभएको पुष्टि भइसकेको छ ।
दश स्थानीय तह रहेको जिल्लामा हालसम्म दश जनााई मात्रै क्वारेन्टाइनमा राखिएको जनाइएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश पुगेर घर फर्किएकालाई क्वारेन्टाइनमा राखिएको हो ।
केपिलासगढी गाउँपालिकाले दुबईबाट घर आइपुगेका खार्ताम्छाका एक युवा र कतारबाट घर आइपुगेका दिप्सुङका ४५ वर्षीय एक व्यक्तिलाई क्वारेन्टाइनमा राखेको । यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले भारतको सिक्किमबाट घर आएका छ जना र साउदीबाट आएका एक जनालाई क्वारेन्टाइनमा राखेको छ ।
यसैगरी, साकेला गाउँपालिकामा एक जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बसेका व्यक्तिलाई १४ दिनसम्मका लागि खाने र बस्ने व्यवस्था सम्बन्धित स्थानीय तहले मिलाएको जनाइएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १५ जना होम क्वारेन्टाइनमा रहेको नगरप्रमुख दिपनारायण रिजालले बताउनुभएको छ । क्वारेन्टाइनमा बसेका व्यक्तिमा कोरोना भाइरसको लक्षण नदेखिएको भएपनि प्रभावित क्षेत्रबाट आएका व्यक्ति भएकाले १४ दिनसम्म क्वारेन्टाइनमा बस्न आग्रह गरिएको जनाइएको छ ।
जिल्लामा ३०४ शैयाको क्वारेन्टाइन, १३ शैयाको आइसोलेसन वार्ड तथा २१ स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ । हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले लगाउने एन ९५ माक्स र इन्फारेट थर्मोमिटर अझै प्राप्त नहुँदा समस्या भएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलले बताउनुभयो ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय खोटाङले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारबाट प्राप्त भएको रु दुई लाख बजेट पर्सनल प्रोट्याक्टिभ इक्विपमेन्ट (पिपिई) खरिदमा खर्च गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन आवश्यक कार्यक्रम सञ्चालन गर्नका लागि प्रदेश सरकारबाट आएको बजेटबाट करीब ५० थान पिपिई खरिद गर्ने भएको हो ।
केही दिनभित्रै पिपिई खरिद गरेर ल्याइपु¥याउने गरी स्वास्थ्य कार्यालयलाई रकम प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । प्रशासनबाट प्राप्त रकमले पिपिई खरिद गर्नका लागि आज (शुक्रबार) नै स्वास्थ्य कार्यालयको प्रतिनिधि काठमाडौँ गएको जनाइएको छ ।


