खोटाङ, १८ चैत । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले हरेक स्थानीय तहलाई ५०÷५० शैयाको क्वारेन्टाइन बनाउन आग्रह गरेको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले आ–आफ्नै तरिकाले क्वारेन्टाइन तयार पारिरहेको अवस्थामा समन्वय समितिले शैया संख्या तोकेरै क्वारेन्टाइन बनाउन आग्रह गरेको हो ।
विदेशबाट फर्किनेको संख्या वृद्धि भएसँगै कोरोना भाइरसको संक्रमण फैलिन सक्ने खतरा देखिएकाले स्थानीय सरकारलाई पूर्वतयारीमा बस्न आग्रह गर्ने निर्णय गरिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताउनुभयो । बैठकले सबै स्थानीय तहमा कोरोना भाइरस संक्रमण रोकथामका लागि दुई जना स्वास्थ्यकर्मी र एक जना एम्बुलेन्स चालक सम्मिलित तीन÷तीन सदस्यीय ¥यापिड रेस्पोन्स टिम (आरआरटि) गठन गर्न, एम्बुलेन्स र चालकलाई तयारी अवस्थामा राख्न, विभिन्न हेल्थडेस्कमा खटाइएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई खाजा तथा पानीको व्यवस्था मिलाउन समेत आग्रह गरेको छ ।
यस्तै, प्रदेश सरकारबाट प्राप्त भएको व्यक्तिगत सुरक्षा सामग्री (पिपिई), सर्जिकल मास्क, ग्लोव्स र सेनीटाइजर जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्थानीय तहलाई समानुपातिक ढंगले वितरण गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डको आधारमा पिपिईको उपयोग गर्ने प्रवन्ध मिलाउने निर्णय गरिएको छ । प्रदेश सरकारले पठाएको पाँच सेट डिस्पोजेवल पिपिई, डेढ सय ग्लोव्स, सय वटा मास्क र १२ थान सेनीटाइजर आइपुगेसँगै सम्बिन्धत स्थानीय तहमा पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले बताउनुभयो ।
प्रदेश सरकारबाट पुनः प्राप्त हुने २० थान पिपिई पनि आवश्यकताका आधारमा वितरण हुने जनाइएको छ । स्वास्थ्यकर्मीको सुरक्षामा चुनौति आएपछि स्वास्थ्य कार्यालय आफैले ३० सेट पिपिई खरिद गरेकामा १६ सेट राखेर अन्य सेट स्थानीय तहलाई वितरण गरिसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका दश वटै स्थानीय तहमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्नेको संख्या भने न्यून देखिएको छ । विदेशबाट जिल्ला भित्रिनेको संख्या बढेपनि स्थानीय तहले घरमै बस्न छुट दिएपछि क्वारेन्टाइन बस्नेको संख्या न्यून देखिएको हो ।
नेपालमा समेत कोरोना भाइरसका संक्रमित भेटिएपछि जिल्लामा पनि क्वारेन्टाइन र आइसोलेसन वार्ड निर्माण गरिएपनि हालसम्म छ जना मात्र क्वारेन्टाइन बसेका छन् । विदेशबाट फर्किनेको संख्या अधिक भएपनि दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पाँच र साकेला गाउँपालिकाले एक जनालाई मात्र क्वारेन्टाइनमा राखेको हो ।
क्वारेन्टाइनमा बस्ने उनीहरु सबैको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको बताइएको छ । गाउँपालिकाले उनीहरुलाई खाने सुविधा दिएर क्वारेन्टाइनमा राखेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिले जनाएको छ ।
यस्तै, गत चैत–४ गते फ्रान्सबाट कतार हुँदै काठमाडौँ आएकी युवतीसँगै यात्रा गरेका खोटाङका दुई जनामध्ये एक जना अहिले पनि सेल्फ क्वारेन्टाइनमा बसेका छन् । केपिलासगढी गाउँपालिकाका एक युवा धरानस्थित क्वारेन्टाइनमा बसेपनि जन्तेढुङ्गा गाउँपालिकाका अर्का युवा भने सेल्फ क्वारेन्टाइन बसेका हुन् ।


