कोभिड–१९ : घरमा बस्न दिएपछि क्वारेन्टाइन बस्नेको संख्या न्यून

Halesi Khabar

खोटाङ, १७ चैत । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वभर फैलिएसँगै विभिन्न देशबाट जिल्ला भित्रिनेको संख्या बढेपनि खोटाङमा क्वारेन्टाइनमा बस्नेको संख्या न्यून देखिएको छ । जिल्लाका अधिकांश स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिलाई पनि सेल्फ क्वारेन्टाइन भन्दै परिवारसँग घरैमा बस्ने छुट दिएपछि क्वारेन्टाइनमा बस्नेको संख्या न्यून देखिएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पाँच र साकेला गाउँपालिकाले एक जनालाई मात्र क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा बस्ने उनीहरु सबैको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको बताइएको छ ।

गत फागुन २९ गते दुबईबाट नेपाल फर्किएका रतन्छाका २६ वर्षीय युवालाई शनिबार बेलुकादेखि क्वारेन्टाइनमा राखिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । रतन्छास्थित साकेला माविमा निर्माण गरिएको दश शैयाको क्वारेन्टाइनमा उनलाई १४ दिनका लागि राखिएको हो ।

जिल्लाका अन्य स्थानीय तहले आ–आफ्नो क्षेत्रमा बनाएका क्वारेन्टाइन हालसम्म रित्तो रहेको अवस्थामा दिप्रुङ चुइचुम्माले पाँच र साकेला गाउँपालिकाले एक जनालाई मात्र क्वारेन्टाइनमा राख्न सफल भएको छ । उनीहरुलाई गाउँपालिकाले खाने सुविधा दिएर क्वारेन्टाइनमा राखेको जनाइएको छ ।

यस्तै, गत चैत–४ गते फ्रान्सबाट कतार हुँदै काठमाडौँ आएकी युवतीसँगै यात्रा गरेका खोटाङका दुई जनामध्ये एक जना अहिले पनि सेल्फ क्वारेन्टाइनमा बसेका छन् । केपिलासगढी गाउँपालिकाका एक युवा धरानस्थित क्वारेन्टाइनमा बसेपनि जन्तेढुङ्गा गाउँपालिकाका अर्का युवा भने सेल्फ क्वारेन्टाइन बसेका हुन् ।

उनलाई गत चैत–१२ गते साँझदेखि १४ दिनसम्म छरछिमेकीसँग सम्पर्क तथा भेटघाट नगर्नेगरी स्वास्थ्यकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको गाउँपालिका प्रमुख शंकरमान राईले बताउनुभयो । क्यूआर ६५२ कलसाईनको कतार एयरवेजमार्फत फर्किएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीसँगै नेपाल आएर जिल्ला भित्रिएका युवाका कारण संक्रमणको त्रास छाएको छ ।

नेपालमा समेत कोरोना भाइरसका संक्रमित भेटिएपछि देशभर क्वारेन्टाइन र आइसोलेसन वार्ड निर्माण गर्नेक्रम शुरु भएसँगै जिल्लामा पनि क्वारेन्टाइन र आइसोलेसन वार्ड निर्माण गर्नेमा स्थानीय तहबीच होडबाजी नै चलेको थियो । तर, विदेशबाट फर्किनेको संख्या अधिक भएपनि निर्माण गरिएका क्वारेन्टाइनमा राख्नेतर्फ ध्यान गएको छैन ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका कतिपय स्थानीय तहले भर्खरै मात्र विदेशबाट फर्किएका व्यक्तिको लगत संकलनको काम शुरु गरेको पाइएको छ । यसअघिदेखि नै लगत संकलन शुरु गरिएका कतिपय स्थानीय तहमा समेत अहिलेसम्म यकिन तथ्याङ्क जम्मा भइसकेको छैन ।

खोटाङमा जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङको संयोजकत्वमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम नियन्त्रण जिल्ला समन्वय समिति गठन गरिएपनि प्रभावकारी काम भने हुन सकेको छैन । जिल्लाका सबै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, सशत्र प्रहरी, राष्ट्रिय अनुसन्धान, जिल्ला अस्पताल, रेडक्रस लगायतका प्रतिनिधि सदस्य रहनेगरि समिति गठन गरिएको हो ।

तपाईको प्रतिक्रिया