खोटाङ, १६ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आएका १७ परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण ज्यालादारी गर्न नपाएका १७ परिवारलाई नगरपालिकाले आइतबार चामल, दाल, नुन र तेल उपलब्ध गराएको हो ।
नगरपालिकाको ‘लोक कल्याणकारी नीति’ अनुसार लकडाउनको मारमा परेका दैनिक ज्यालादारी मजदुरलाई खाद्यान्न सहयोग गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । “लकडाउनकै कारण नगरपालिकाभित्र कसैले पनि भोकभोकै बस्नु पर्ने छैन”, खाद्यान्न सामग्री हस्तान्तरण गर्दै उहाँले भन्नुभयो, “आवश्यकताको पहिचान गरेर आगामी दिनमा पनि यस्तै राहतका योजनाहरु ल्याउने छौँ ।”
यसअघि सो नगरपालिकाले दिक्तेल–खानीडाँडा सडक निर्माणको काम गरिरहेका उदयपुर र पथरी मोरङका १९ कामदारलाई खाद्यान्न प्रदान गरेको थियो । दिनभरी मजदुरी काम गरेर आएको पैसाले खरिद गरेको उपभोग्यवस्तुले बिहान बेलुकाको छाक टार्दै आएका कामदारलाई करीब १५ दिन पुग्ने खाद्यान्न प्रदान गरेको हो ।
कोरोना भाइरसको संक्रमणबाट बच्न राज्यले चालेको ‘लकडाउन’को नीति जनताको स्वास्थ्य सुरक्षाको हिसाबले सुखद भएपनि दैनिक काम गरेर बिहान बेलुकी हातमुख जोड्ने गरिब मजदुरलाई समस्या भएको छ । लकडाउनकै कारण समस्यामा परेका व्यक्तिलाई नगरपालिकाले प्रति व्यक्ति दश केजी चामल, दुई केजी दाल, एक केजी नुन र एक लिटर तेल दिने नीति अख्तियार गरेको हो ।


