खोटाङ, १६ चैत । जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयस्थित सेलेवामा ज्वरो र झाडापखालाको प्रकोप फैलिएको छ । गत शुक्रबारदेखि फैलिएको ज्वरो र झाडापखालाले १२ वर्षमुनिका १२ जना र ४० देखि ६० वर्ष उमेर समूहका २२ जना बिरामी परेका छन् ।
ज्वोरो र झाडापखालाका प्रकोप एक्कासी फैलिएपछि शनिबार चेकजाँचका साथै आवश्यक औषधि वितरण गरिएको वडाध्यक्ष विदुरमान राईले बताउनुभयो । आज (आइतबार) पनि अहेव जनक कार्की सहितको टोली सेलेवा पुगेर स्थानीयवासीको स्वास्थ्य अवस्था बारे बुझ्ने तयारी गरिएको जनाइएको छ ।
मौसम परिवर्तनका कारण उनीहरुमा ज्वरो, झाडापखाला लगायतका समस्या देखिएको स्वास्थ्यकर्मीको अनुमान छ । यद्यपि, बिरामीको स्वास्थ्यमा जटिल समस्या नदेखिएको अहेव कार्कीले बताउनुभएको छ ।
स्थानीयमा ज्वरो र झाडापखालाको सामान्य समस्या देखिए पनि नियन्त्रणमा आउनेक्रममा रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताउनुभयो । सो गाउँका कोही पनि व्यक्ति वैदेशिक रोजगारीमा संलग्न नभएकाले हाल फैलिएको कोरोना भाइरस (कोभिड–१९)को त्रास नभएको बताइएको छ ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त गाउँपालिकामा कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रणका लागि चिसापानी माविमा २० शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । गाउँपालिका प्रवेश गर्ने प्रमुख नाकामा हेल्थ डेस्क (स्वास्थ्य सहायता कक्ष)समेत स्थापना गरेर सञ्चालनमा ल्याइएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रण तथा उपचार कोषमा गाउँपालिका प्रमुख शंकरमान राईले दुई महिनाको सेवासुविधा जम्मा गर्ने बताउनुभएको छ । जिल्लाका अन्य स्थानीय तहका जनप्रतिनिधिले पनि आ–आफ्नो क्षेत्रमा कोष खडा गरेर राज्यबाट आफूले पाउने सेवासुविध जम्मा गर्न थालेका छन् ।


