खोटाङ, १६ चैत । सक्रिय बचत तथा ऋण सहकारी संस्था खोटाङले दिक्तेल बजारमा सुरक्षार्थ खटिने सुरक्षाकर्मीलाई आइतबार खाजा तथा पानी उपलब्ध गराएको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमण नियन्त्रण गर्न दिनरात सुरक्षार्थ खटिने सुरक्षाकर्मीलाई संस्थाले रु २५ हजार मुल्य बराबरको खाजा तथा पानी उपलब्ध गराएको हो ।
सरकारले घोषणा गरेको लकडाउनको समयमा चौबीसै घण्टा सुरक्षार्थ खटिने सुरक्षाकर्मीले पानी समेत खान नपाउने अवस्था रहेकाले खाजा तथा पानी उपलब्ध गराइएको संस्थाका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । “दिनको चर्को घाम र रातको निन्द्र नभनी भोकभोकै हाम्रो सुरक्षार्थ प्रहरी खटिएका छन्”, उहाँले भन्नुभयो, “दिक्तेल बजारमा खटिएका सुरक्षाकर्मीलाई मानवीय हिसाबले खाजा र पानी उपलब्ध गराइएको हो ।”
सहकारी संस्थाले मिनिरल वाटर २० काटन, फ्रुटी दश काटन, बिस्कुट पाँच काटन र चाउचाउ दश काटन उपलब्ध गराएको छ । दिक्तेल बजार कार्यक्षेत्र बनाएर सञ्चालित सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत खडा गरेको कोषमार्फत खाजा र पानी उपलब्ध गराएको सचिव सुमन श्रेष्ठले जानकारी दिनुभयो ।
सहकारीले उपलब्ध गराएको खाजा तथा पानी जिल्लाभर खटिने सुरक्षाकर्मीलाई वितरण गरिने जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । “प्रहरी प्रशासनले राहत लियो भन्ने नबुझ्नुहोला, उहाँहरुले गरेको मानवीय कार्यको सम्मान गरेका हौँ”, उहाँले भन्नुभयो, “यसले चौबीसै घण्टा सुरक्षार्थ खटिने प्रहरीको मनोबल बढेको छ ।”
दश स्थानीय तह रहेको जिल्लामा सरकारले घोषणा गरेको लकडाउनको अवज्ञा गर्ने २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार लगायत व्यापारिक केन्द्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
सुरक्षाकर्मीलाई खाजा र पानी उपलब्ध गराएको सहकारीले जिल्लामा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आएका आफ्नो सदस्यलाई समेत राहत उपलब्ध गराउने व्यवस्था गरेको जनाइएको छ । वि.सं. २०५२ सालमा स्थापना भएको सहकारीमा ४१५ जना शेयर सदस्य रहेका अध्यक्ष लयालुले जानकारी दिनुभयो ।


