खोटाङ, १२ चैत । कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले लकडाउनको अवधिमा अपराधिक क्रियाकलाप हुने सम्भावनातर्फ सचेत रहन जिल्लावासीलाई आग्रह गरेको छ । समितिको बुधबार बसेको बैठकले लकडाउनको अवधिमा विभिन्न अपराधिक घटना हुनसक्ने सम्भावनातर्फ सचेत रहन सर्वसाधारण एवम् सुरक्षा निकायलाई आग्रह गरेको हो ।
संकटको सामना गर्नेतर्फ सबैको ध्यान केन्द्रित भएको अवस्थामा अपराधिक घटना हुने वा घटाउन सक्ने सम्भावना पनि भएकाले सचेत रहन र सावधानी अपनाउन भनिएको जिल्ला समन्वय समितिका प्रमुख एवम् संयोजक बबि चाम्लिङले बताउनुभयो । लकडाउनको अवधिमा सुरक्षा निकाय थप सकर्त रहनुपर्ने बैठकको निष्कर्ष छ ।
बैठकले सबै स्थानीय तहले स्थापना गरेको राहत कोषमा रकम जम्मा गरेर कोरोना रोकथाम तथा नियन्त्रणका आवश्यक गतिविधिमा खर्च गर्न, हरेक स्थानीय तहलाई कम्तीमा ४० बेडको क्वारेन्टाइन बनाउन आग्रह गर्ने निर्णय गरेको छ । यस्तै, स्वास्थ्य परीक्षणकाक्रममा स्वास्थ्यकर्मीले लगाउने पिपिई, मास्क, ग्लोब्स लगायतका सामग्री व्यवस्थापन गर्न आवश्यक रकम जुटाउनका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र १ नम्बर प्रदेशको मुख्यमन्त्रीसमक्ष माग गर्ने निर्णय समेत गरिएको संयोजक चाम्लिङले बताउनुभएको छ ।
जिल्लका दश वटै स्थानीय तहमा क्वारेन्टाइन स्थापना गरिएपनि स्वास्थ्य परीक्षणकाक्रममा स्वास्थ्यकर्मीले लगाउने पिपिई, मास्क, ग्लोब्स लगायतका सामग्री अभाव रहेको पाइएको छ । आवश्यक सुरक्षा सामग्री तथा उपकरण अभावमा जिल्लाका विभिन्न ठाउँहरुमा स्थापना गरेर सञ्चालन गरिएको हेल्थ डेस्क (स्वास्थ्य सहायता कक्ष)मा खटिएका स्वास्थ्यकर्मी जोखिम मोलेर काम गरिरहेका छन् ।


