बजेट नजुटेपछि हलेसी तुवाचुङ नगरपालिकाको कार्यक्रम संशोधन

Halesi Khabar

खोटाङ, २९ फागुन । प्रक्षेपण गरे अनुसार संघीय सरकार, प्रदेश सरकार र आन्तरिक स्रोतबाट बजेट नजुटेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कार्यक्रम संशोधन गरेको छ । संघीय सरकार र प्रदेश सरकारले राजस्व बाँडफाँडतर्फको सिलिङ अनुुसार बजेट नपठाएपछि र लक्ष्य अनुसार आन्तरिक श्रोत नजुटेपछि नगरपालिकाले हिँउदे नगरसभामार्फत कार्यक्रम संशोधन गरेको हो ।

गत असार १० गतेको नगरसभामा छलफलका लागि पेश गरेर असार ३१ गते रु ४८ करोड आठ लाख सात हजार बराबरको बजेट पारित गरेकोमा संशोधन गरेर पुनः रु ४७ करोड ७९ लाख ३० हजार बराबरको बजेट तथा कार्यक्रम पारित गरिएको नगरप्रमुख इवन राईले जानकारी दिनुभयो । “संघीय सरकार र प्रदेश सरकारले राजस्व बाँडफाँडतर्फको सिलिङ अनुशार बजेट पठाएन । हामीले राखेको लक्ष्य अनुसार आन्तरिक स्रोत पनि जुट्न सकेन”, उहाँले भन्नुभयो, “यसअघि पारित गरेर लागू गरिएको बजेट तथा कार्यक्रम संशोधन हुँदा नगरपालिकाको योजना प्रभावित भएको छ ।”

प्रक्षेपण गरे अनुसार बजेट नजुट्दा विभिन्न योजनाका लागि बजेट घटेर जाने नगरपालिकाले जनाएको छ । हिउँदे नगरसभामा नगरपालिकाले आर्थिक विकासतर्फ विनियोजन गरेको रु ११ करोड ९४ लाख ८२ हजार ५०० बजेटमध्ये छ महिनामा ३९ प्रतिशत (रु चार करोड ६५ लाख ९८ हजार १७५) खर्च भएको, सामाजिक विकासतर्फ विनियोजित रु आठ करोड १२ लाख ४८ हजार १०० मध्ये हालसम्म ५४ प्रतिशत (रु चार करोड ३८ लाख ७३ हजार ९७४) खर्च भएको, पूर्वाधारतर्फ विनियोजित रु १६ करोड २४ लाख ९६ हजार २०० मध्ये ३८ प्रतिशत (रु छ करोड १७ लाख ४८ हजार ५५६) खर्च भएको जानकारी दिएको छ ।

यस्तै, वातावरण तथा विपद व्यवस्थापनतर्फ विनियोजित रु सात करोड १६ लाख ८९ हजार ५०० मध्ये ४८ प्रतिशत (रु तीन करोड ४४ लाख दश हजार ९६०) खर्च भएको तथा संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन क्षेत्रतर्फ विनियोजित रु चार करोड ३० लाख १३ हजार ७०० मध्ये ३८ प्रतिशत (रु एक करोड ६३ लाख ४५ हजार २०६) खर्च भएको अर्धवार्षिक भौतिक तथा वित्तीय प्रगति प्रतिवेदन पारित गरिएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सो नगरपालिकाको हिउँदे नगरसभाले अर्धवार्षिकरुपमा गरिएका कार्यक्रमको समीक्षा गर्दै १४ वटा ऐन, कानून र कार्यविधि समेत पारित गरेको छ ।

यसअघि पारित गरेर लागू गरिएको नगरपालिकाको शिक्षा ऐन पनि संशोधन गरिएको नगरप्रमुख राईले बताउनुभयो । यस्तै, गत साउन १ गतेदेखि बसेको ११ वटा कार्यपालिका बैठकले पारित गरेको निर्णय समेत अनुमोदन गरिएको जनाइएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिकागरि दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा पनि धमाधम हिउँदेसभा भइरहेको छ । भौगोलिक रुपमा बिकट मानिएको खोटाङ जिल्लाका हरेक स्थानीय तहले भौतिक विकासमा जोड दिएको पाइएको छ ।

तपाईको प्रतिक्रिया