सरस्वती मावि दिक्तेलमा पूर्व विद्यार्थीद्धारा अक्षयकोष स्थापना

Halesi Khabar

खोटाङ, ७ पुस, जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित सरस्वती माध्यमिक विद्यालयका पूर्व विद्यार्थीले सो विद्यालयको नाममा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको सबैभन्दा जेठो सो विद्यालयमा अध्ययन गरेर वि.सं. २०४५÷०४६ सालदेखि २०५६÷०५७ ब्याचसम्म एस.एल.सी. उत्तीर्ण गरेपछि विभिन्न देश तथा विदेशमा विभिन्न पेशा÷व्यवसाय गर्दै आएका पूर्व विद्यार्थीले सङ्कलन गरेको रु दश लाख ६५ हजार रकमको अक्षयकोष स्थापना गरेका हुन् ।

एस.एल.सी. उत्तीर्णपछि उच्च शिक्षा अध्ययन विभिन्न पेशा÷व्यवसाय गर्न देश तथा विदेशमा छरिएर रहेका पूर्व विद्यार्थीले सोमबार विद्यालयमा कार्यक्रमगरि ‘सरस्वती माध्यमिक विद्यालय पूर्व विद्यार्थी अक्षयकोष’ खडा गरेको प्रधानाध्यापक ध्यानबहादुर राईले बताउनुभयो । पूर्व विद्यार्थीले प्रदान गरेको रकमको चेक कार्यक्रमका प्रमुख अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवी राई लगायतले प्रधानाध्यापक राईलाई हस्तान्तरण गर्नुभएको थियो ।

देश तथा विदेशमा छरिएर रहेका ९४ जना पूर्व विद्यार्थीले अनलाइन बैठक बसेर दुई हप्तामा रकम जम्मा गरिएको संयोजक अञ्जु भट्टराईले बताउनुभयो । “सामाजिक सञ्जालबाट कोष खडा गर्ने खबर सार्वजनिक भएपछि अभियानमा स्वतः स्फुर्त विद्यार्थीहरु थपिएका थिए”, उहाँले भन्नुभयो, “खडा गरिएको अक्षयकोषको ब्याजले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सहयोग गर्ने उद्देश्य राखिएको छ ।”
यस्तै, सरस्वती मावि दिक्तेलमा एस.एल.सी. उत्तीर्ण गरेपछि बेलायत (युके) बस्दै आएका पूर्व विद्यार्थीले सो विद्यालयको प्राङ्गण धुलोरहित बनाउने अभियानका लागि आर्थिक सहयोग गरेको छ ।

एस.एल.सी. उत्तीर्णपछि उच्च शिक्षा अध्ययन, विभिन्न पेशा÷व्यवसाय सञ्चालन लगायतका लागि बेलायत बस्दै आएका पूर्व विद्यार्थीले सङ्कलन गरेको रु नौँ लाख ४८ हजार ३२२ रकम सहयोग गरेको हो ।

सहयोग रकमको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयप्रसाद आचार्य र प्रधानाध्यापक राईलाई सहयोग रकम सङ्कलन समितिका सचिव जगतराम राईले हस्तान्तरण गर्नुभयो । बेलायतमा डाक्टर प्रमोद कोयूको संयोजकत्वमा सहयोग रकम सङ्कलन गरिएको जनाइएको छ ।
कक्षा–१ देखि १२ सम्म सञ्चालित उक्त विद्यालयको प्राङ्गणबाट उत्पादन हुने धुलोको कारण पठन÷पाठनमा समस्या भएपछि धुदोरहित बनाउन सहयोगका लागि बेलायतबासी पूर्व विद्यार्थीलाई अनुरोध गरिएको थियो । विकास÷निर्माण तथा सामाजिक काममा सहयोग गर्दैको बेलायतबासी खोटाङ्गेले गत वर्ष सात वटा एम्बुलेन्स र एक वटा भिडियो एक्स–रे मेसिन प्रदान गर्न आयोजना गरिएको कार्यक्रममा पूर्व विद्यार्थीलाई लिखित निवेदनसहित अनुरोध गरिएको थियो ।

यसैबीच, वि.सं. २०५२÷०५३ एस.एल.सी. ब्याचका विद्यार्थीले आफूलाई अध्यापन गराउने शिक्षकलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका छन् । तत्कालीन समयका ११ जना शिक्षकलाई दोसल्ला ओढाएर र हाल कार्यरत शिक्षक तथा कर्मचारीलाई खादा ओढाएर सम्मान गरेका हुन् ।

पूर्व विद्यार्थीले उक्त कार्यक्रममा कक्षा–२ मा अध्ययनरत ७६ वर्षीया वृद्धा जुरीमायाँ राईलाई समेत दोसल्ला ओढाएर सम्मान गरेको छ । वृद्धावस्थामा पनि विद्यालय धाएर समाज तथा अन्य विद्यार्थीलाई शिक्षाप्रति प्रोत्साहित गरेको कदर स्वरुप सम्मान गरिएको जनाइएको छ ।
शिक्षक तथा कर्मचारीलाई नगरप्रमुख रिजाल, उपप्रमुख राई र पूर्व विद्यार्थीले सम्मानपत्र प्रदान गरेका थिए । सम्मान कार्यक्रमका वक्ताहरु बिगतका कुराहरु स्मरण गर्दै भावुक भएका थिए ।

तपाईको प्रतिक्रिया