हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र दुर्छिममा प्रहरीचौकी स्थापना

Halesi Khabar

मङ्सिर ः हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र रहेको दुर्छिममा प्रहरीचौकी स्थापना गरिएको छ । स्थानीय तहको शान्ति सुरक्षालाई ध्यानमा राखेर बिहीबार दुर्छिममा स्थायी प्रहरीचौकी स्थापना गरिएको हो ।

नगरपालिकाको केन्द्र नजिकै भाडाको घरमा स्थापना गरिएको प्रहरीचौकी नगरप्रमुख इवन राईले उद्घाटन गर्नुभयो । प्रहरीचौकी उद्घाटन गर्न जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यय, तीन वटै सुरक्षा निकायका प्रमुख लगायत दुर्छिम पुग्नुभएको थियो ।

दुर्छिम प्रहरीचौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सात जना प्रहरी खटाइएको जनाइएको छ । त्रिधार्मिकस्थल हलेसी नजिकै पर्ने दुर्छिममा प्रहरी चौकी स्थापना गरिदिन यसअघि स्थानीयवासीले पटक–पटक माग गरेपनि स्थानीय तह कार्यान्वयनमा आएपछि मात्र स्थापना गरिएको हो ।

नगरपालिकाको केन्द्र दुर्छिममा प्रहरीचौकी स्थापना गरेलगत्तै नयाँ भवन निर्माण गर्न आवश्यक जग्गा निःशुल्क माग गरिएको जनाइएको छ । स्थानीयवासीबाट निःशुल्क जग्गा प्राप्त भएपछि नयाँ भवन निर्माण गरेर प्रहरीचौकीलाई आफ्नै भवनमा सारिने नगरप्रमुख राईले बताउनुभएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा दुर्छिमसँगै प्रहरी बिटको संख्या ३६ पुगेको छ । जसमध्ये ३१ स्थायी र चार वटा अस्थायी बिट रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।
प्रनाउ गौतमका अनुसार तालखर्क, याम्खा, भण्डारेघाट र हरमटारमा अस्थायी प्रहरीचौकी रहेको छ । जिल्लामा स्थापना गरिएका

अधिकांश प्रहरी बिट भाडाको घरमा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवम् प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिनुभएको छ ।

आफ्नै प्रहरी भवन अभावमा जिल्लामा प्रति महीना ८१ हजार ९३८ रुपैयाँ ३३ पैसा राज्यकोषको रकम भाडा बापत खर्च हुने गरेको पाइएको छ । भाडाको घरमा सञ्चालन हुँदै आएको जिल्ला प्रहरी कार्यालयको आवासगृह, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क र मात्तिमबिर्ता, प्रहरी चौकी देविस्थान, रतन्छा, च्यास्मिटार र बुइपाको कार्यालय भवन निर्माणाधीन अवस्थामा छ ।

तपाईको प्रतिक्रिया