मन्त्री मगरले गरिन् खानेपानी सचिव शर्माको बिदाइ

Halesi

काठमाडौं । खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई आज औपचारिक रुपमा बिदाइ गरिएको छ । आजैदेखि अवकाश पाउनुभएका सचिव शर्मालाई मन्त्रालयले औपचारिक कार्यक्रम गरी बिदाइ गरेको हो । खानेपानीमन्त्री बीना मगरले सचिव शर्मालाई खादा, टोपी र माला लगाई औपचारिक बिदाइ गर्नुभयो ।

सो अवसरमा मन्त्री मगरले समृद्ध नेपाल निर्माणको अभियानमा सचिव शर्माको भूमिका र सहयोग सरकारका लागि महत्वपूर्ण हुने बताउनुभयो । “समाज र राष्ट्रका लागि आगामी दिनमा शर्माले महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु”, उहाँले भन्नुभयो, “प्रशासनिक क्षेत्रमा राष्ट्रले ठूलो लगानी गरेको छ । उहाँजस्तो व्यक्तित्वका लागि राष्ट्रले लगानी गरेको हुँदा उहाँ आगामी दिनमा थप ऊर्जाका साथ राष्ट्र निर्माणमा लाग्नु हुनेछ भन्ने विश्वास लिएकी छु ।”

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले सचिव शर्मा कुशल प्रशासक, क्षमतावान् र काममा लगनशील व्यक्ति भएको टिप्पणी गर्नुभयो । सचिव शर्माले आफू आगामी दिनमा राष्ट्रको सेवा गर्न सधैँ तयार रहेको बताउनुभयो । उहाँले अवकाशपछि पनि मन्त्रालयको कुनै पनि काममा स्वयंसेवक भएर सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता जनाउनुभयो । सचिव शर्मा निजामती सेवामा २०५२ वैशाख २६ गते प्रवेश गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया