खोटाङ, २४ चैत । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण कार्य सुरु गरिएको छ । धार्मिक तथा पर्यटकीयस्थल बुङालुङ पार्कमा कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको साझेदारीमा हलेसी तुवाचुङ नगरपालिकाले बहुसांस्कृतिक सङ्ग्रहालय निर्माणको काम सुरु गरेको हो ।
बहुसांस्कृतिक सङ्ग्रहालय भवन निर्माणका लागि कोशी प्रदेश सरकार र नगरपालिकाले रु एक÷एक करोड बजेट उपलब्ध गराएको नगरप्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ । नगरप्रवक्ता गिरीका अनुसार प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट गङ्गा–जमुना निर्माण सेवा ताप्लेजुङले रु ९० लाख तथा नगरपालिकाले विनियोजन गरेको बजेटबाट सुदेवी कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.ले रु ८० लाख ८१ हजारमा सङ्ग्रहालय भवन निर्माणको जिम्मा लिएको छ ।
गत फागुन–२२ गते सम्झौता गरेर निर्माण सुरु गरिएको सङ्ग्रहालयको काम आगामी जेठ मसान्तभित्र सम्पन्न गर्नुपर्ने ठेकेदार कम्पनीसँग गरिएको सम्झौतामा उल्लेख छ । प्रदेश सरकारले उपलब्ध गराएको बजेटबाट एउटा तथा नगरपालिकाले उपलब्ध गराएको बजेटबाट दुईवटा सङ्ग्रहालय भवन निर्माण हुने नगरपालिकाले जनाएको छ ।
बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक पहिचानलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित बुङालुङ पार्कमा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माणको काम सुरु गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “स्थानीय संस्कृति, इतिहास, परम्परा र विभिन्न समुदायको जीवनशैलीलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने योजना बनाएका छौँ । बहुसांस्कृतिक सङ्ग्रहालय भवनले हलेसी क्षेत्रको सांस्कृतिक पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो, “नगरपालिकाले यो परियोजनालाई आफ्नो गौरवको योजनाका रूपमा अघि बढाएको छ । निर्धारित समयमै निर्माण सम्पन्न गराएर सञ्चालनमा ल्याउन ठेकेदार कम्पनीलाई ताकेता गरिरहेका छौँ ।”
हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीबाट करिब ३० मिनेटको उकालो पैदल यात्रामा पुगिने पर्यटकीयस्थल ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्कमा बहुसांस्कृति सङ्ग्रहालयसमेत निर्माण सुरु भएपछि स्थानीयवासीसमेत हर्षित भएका छन् । लामो समयअघिदेखि स्थानीय बासिन्दा घुमफिर र पिकनिक (वनभोज) जाने पर्यटकीयस्थल ककनीडाँडालाई स्तरोन्नति गरेर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षकस्थल बनाउन हलेसी तुवाचुङ नगरपालिका लागिपरेको हो ।
प्राकृतिकरुपमै सजिसजाउ भएका ढुङ्गालाई थप सजाउने, ढुङ्गाका बीचबीचमा सुहाउँदो फूल रोप्ने, ठाउँ–ठाउँमा ढुङ्गे गेट (प्रवेशद्धार) बनाउने, ढुङ्गे धारा निर्माण गर्ने, ढुङ्गा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ति बनाउने, प्राकृतिक ढुङ्गालाई नचलाइकन कालो, सेतो र रातो रङको ढुङ्गा मिश्रण गरेर फूलको आकृति बनाउने, विभिन्न कला तथा सँस्कृति झल्कने सजावट गर्ने लगायतका काम भइरहेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने पर्यटकीयस्थल ककनीडाँडामा निर्माणाधीन ढुङ्गे बगैँचालाई नगरपालिकाले ‘बुङालुङ’ पार्क नामाकरण गरेको हो ।
विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत उच्च हिमाली क्षेत्रको तस्वीर खिच्न, दृश्यावलोकन गर्न र रम्नका लागि ढुङ्गाकै स–साना गेट निर्माण गर्ने, ढुङ्गे बगैँचाको रुपमा विकास गर्न चारैतिर घेराबार तथा पर्खाल लगाउने, एक क्षेत्रबाट अर्को क्षेत्र पुग्न ढुङ्गाकै कलात्मक सिँढी निर्माण गर्ने, पर्यटक बिसाउने वा रिल्याक्स गर्नका लागि ठाउँठाउँमा काठका बिसौनी बनाउने काम सम्पन्न गरिएको छ । यस बाहेक ढुङ्गे बगैँचामा विद्युत, पिउनेपानीको व्यवस्था, विश्रामस्थल, केवलकार, भोजनालय, कफीसप लगायतका संरचना निर्माण गर्नेसम्मको परिकल्पना गरिएको छ ।
भस्मासुर राक्षसले महादेवलाई लखेट्दा ककनीडाँडामा महादेवको पाइला परेपछि ढुङ्गाको कलात्मक आकृति निस्किएको किंवदन्ती छ । निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको बुङालुङ पार्क हलेसी भएर जाने नेपाल सरकारको १०० पर्यटकीय गन्तव्य मुन्दुम ट्रेल (पदमार्ग)को प्रवेशस्थलमा पर्दछ ।
किराती सभ्यतासँग सम्बन्धित मुन्दुम ट्रेल हलेसीबाट सुरु भएर रुपाकोट, टेम्के, मैयुङ हुँदै सालपा सिलिचुङसम्मको निर्धारण गरिएको छ । त्रिधार्मिकस्थल हलेसी र ककनीडाँडा नजिकै किरात सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ–जायजुम अवस्थित छ ।
फलामे डण्डी तथा तार प्रयोग गरेर निर्माण गरिएका घेराबाराभित्र रहेको बुङालुङमा गार्ड हाउस (सुरक्षाकर्मी), रेष्टुरेन्ट, प्रमुख प्रवेशद्धार, शौचालय, टिकट काउण्टर निर्माण गरिएको छ । बुङालुङ पार्कबाट सर्वोच्च शिखर सगरमाथा लगायत विभिन्न हिमश्रृङ्खला, छिमेकी जिल्लाहरु सोलुखुम्बु, ओखलढुङ्गा, भोजपुर र रामेछाप तथा तराईका विभिन्न फाँटहरु सजिलै अवलोकन गर्न सकिन्छ ।
निर्माणाधीन बुङालुङ पार्क काठमाडौँबाट मध्यपहाडी लोकमार्गमार्फत गाडीमा सिन्धुली–खुर्कोट–घुर्मी–जयरामघाट हुंदै आउन सकिन्छ । तराईका जिल्लाहरुबाट सिराहको मिर्चैया–उदयपुरको कटारी–घुर्मी–जयरामघाट तथा धरान–धनकुटा–भोजपुर–चखेवाभञ्ज्याङ–दिक्तेल हुंदै पनि हलेसी आउन सकिन्छ ।
निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको बुङालुङ पार्क मध्यपहाडी लोकमार्ग अन्तरगत जयरामघाट–हलेसी सडकदेखि पैदल यात्रा गरेर २०÷२५ मिनेटमा र सवारी साधनमा करिब १० मिनेटमा पुगिन्छ । चट्टानै–चट्टानको प्राकृतिक संरचनामध्ये ५६ रोपनी जग्गालाई समेटेर बुङालुङ पार्क बनाउनेगरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ ।
सङ्घ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा निर्माण सुरु गरिएको बुङालुङ पार्कमा दैनिक सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीयले बताएका छन् । निर्माणाधीन अवस्थामै रहेको बुङालुङ पार्कका आकर्षक तस्वीरहरु सामाजिक सञ्जालहरुमा छ्यापछ्याप्ती भेटिन थालेका छन् ।
हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको धार्मिक तथा पर्यटकीयस्थलहरुको स्तरोन्नतिसहित पर्यटन प्रवद्र्धनका कामलाई जिल्लामा निक्कै महत्वका साथ हेरिएको छ । नगरपालिकाले सुरु गरेको पर्यटन प्रवद्र्धनका काममा प्रदेश तथा सङ्घीय सरकारले समेत लगानी गरेपछि जिल्लाका पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् ।


