भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि बतासेका वडाध्यक्ष बबेन्द्र राईको पद पुनः बहाली

Halesi Khabar

खोटाङ, २२ चैत । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका निलम्बित वडाध्यक्ष बबेन्द्र राईको वडाध्यक्ष पद पुनः बहाली भएको छ । भ्रष्टाचार मुद्दामा मुछिएपछि निलम्बनमा पर्नुभएका वडाध्यक्ष राईले विशेष अदालतबाट वि.सं. २०८२ चैत्र–६ गते सफाइ पाएसँगै पुनः वडाध्यक्ष पदमा बहाल हुनुभएको हो ।

वडाध्यक्ष राई बतासेस्थित जनता उच्च माध्यमिक विद्यालयमा प्राप्त अनुदान रकम हिनामिना गरेको अभियोगमा गत असार–२६ गते निलम्बनमा पर्नुभएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि वडाध्यक्ष राईलाई गाउँ कार्यपालिका बैठकले निलम्बन गरेको हो ।

विशेष अदालतबाट सफाइ पाउनुभएका वडाध्यक्ष राईलाई गाउँपालिकाको ६६ औँ कार्यपालिका बैठकबाट पुनः बहाली गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभएको छ । वडाध्यक्ष राई वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट वडाध्यक्ष निर्वाचित हुनुभएको हो ।

तपाईको प्रतिक्रिया