शल्यक्रियासहितको शिविरमा एक हजार १३९ जनाले गराए आँखाको निःशुल्क उपचार

Minakshi Rai

खोटाङ, २२ चैत । नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको तीनदिने निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविरमा एक हजार १३९ जनाले सेवा लिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको समन्वय तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा चैत–१९, २० र २१ गते सञ्चालित निःशुल्क आँखा उपचार शिविरमा १४९ जनाको आँखाको शल्यक्रिया, ४८५ जना ज्येष्ठ नागरिकलाई चस्मा वितरण, ७७० जनालाई औषधि वितरण र ११५ जना शल्यक्रिया गरिएका बिरामीलाई कालो चस्मा वितरण गरिएको हो ।

दिक्तेल बजारस्थित आँखा उपचार केन्द्र दिक्तेलको भवनमा आयोजना गरिएको निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविरमा सरगमाथा चौधरी आँखा अस्पताल लहानबाट १३ जना चिकित्सकको टोलीले सेवा दिएको नेपाल नेत्रज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजूले जानकारी दिनुभएको छ । कोशी प्रदेश सरकारले दिक्तेल रुपाकोट नगरपालिकालाई उपलब्ध गराएको रु चार लाख आर्थिक सहयोगमा शल्यक्रियासहितको निःशुल्क आँखा उपचार शिविर आयोजना गरिएको हो ।

आँखाको समस्या झेलिरहेका नागरिकलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क शल्यक्रियासहितको तीनदिने आँखा उपचार शिविर उपलब्धिमूलक बनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । शिविरमा शल्यक्रिया हुन नसकेका आँखाका बिरामीलाई सगरमाथा चौधरी आँखा अस्पताल लहानमा लगेर निःशुल्क सेवा उपलब्ध गराइने जनाइएको छ ।

शहरका सुविधा सम्पन्न अस्पतालमा पाइने स्वास्थ्य सेवा आफ्नै ठाउँमा निःशुल्क पाउँदा स्थानीवासीले खुशी व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले चैत–१९ गते औपचारिक उद्घाटन गर्नुभएको शिविर कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू र निवर्तमान सामाजिक विकासमन्त्री  पाँचकर्ण राईको उपस्थितिमा चैत–२२ गते औपचारिक समापन गरिएको हो ।

शिविरमा सहभागी संस्था तथा स्वास्थ्यकर्मीहरुलाई प्रशंसापत्रसहित मायाँको चिनो प्रदान गरिएको सभापति कसजूले जानकारी दिनुभएको छ । तीनदिने शिविरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै छिमेकी गाउँपालिका रावाबेँसी, साकेला, दिप्रुङ चुइचुम्मा र केपिलासगढी गाउँपालिकाका नागरिक सेवा लिन आएका थिए ।

नेपाल नेत्रज्योति सङ्घ खोटाङले हलेसी तुवाचुङ नगरपालिकामा यही चैत–१४, १५ र १६ गते सञ्चालन गरेको शिविरमा ४७९ जनाले सेवा लिएका थिए । नगरपालिकासँगको सहकार्यमा हलेसीस्थित आँखा उपचार केन्द्र महादेवस्थानमा आयोजना गरिएको निःशुल्क आँखा उपचार शिविरमा ८० जनाको शल्यक्रिया, ३९४ जनालाई औषधि तथा १३७ जनालाई चस्मा वितरण गरिएको थियो ।

नेपाल नेत्रज्योति सङ्घले स्थापनाकालदेखि वर्षेनी जिल्लाका विभिन्न स्थानमा पुगेर निःशुल्क शल्यक्रियासहितको शिविर सञ्चालन गर्दै आएको छ । आँखाको समस्या झेलिरहेका नागरिकलाई लक्षित गरेर नेत्रज्योति सङ्घले वर्षेनी निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविर सञ्चालन गरेपछि जिल्लावासी लाभान्वित हुँदै आएका छन् ।

वि.सं. २०६० वैशाख–१० गते स्थापना भएको नेपाल नेत्रज्योति सङ्घले जिल्लाका विभिन्न ठाउँमा निःशुल्क आँखा उपचार तथा निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको छ । डा. गुणराज लोहनी संस्थापक सभापति रहेको नेत्रज्योति सङ्घले दिक्तेल बजार र हलेसीमा आँखा उपचार केन्द्रसमेत सञ्चालन गरेर सेवा उपलब्ध गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया