खोटाङ, २२ चैत । माउन्ट एभरेष्ट बोर्डिङ स्कूल दिक्तेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स प्रा.लि. शाखा कार्यालय दिक्तेलबीच शिक्षक तथा विद्यार्थीको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले दुर्घटना बीमा सम्झौता भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई प्रतिव्यक्ति रु एक लाख बराबरको निःशुल्क दुर्घटना बीमा सेवा प्रदान गर्नेगरी आइतबार दुई पक्षबीच सम्झौता भएको हो ।
बीमा अन्तरगत बिरामी पर्दा उपचार खर्च, औषधि खर्च, दुर्घटनाबाट हुने क्षति तथा मृत्यु भएमा क्षतिपूर्ति उपलब्ध गराइने व्यवस्था गरिएको छ । शैक्षिकसत्र २०८३ मा भर्ना हुने विद्यार्थीलाई पनि अनिवार्य रूपमा बीमा कार्यक्रममा समेटिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
इच्छुक अभिभावकले समेत निश्चित प्रिमियम तिरेर बीमा कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था गरिएको जनाइएको छ । विद्यार्थीलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले चैत महिनाभित्र भर्ना भइसकेका पुराना विद्यार्थीलाई भर्ना शुल्क तथा विद्यालयका पुस्तक, कपी, ड्रेस, जुत्ता लगायत सम्पूर्ण स्टेशनरी सामग्रीमा पाँच प्रतिशत छुट दिने व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रम लागू भएसँगै विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी गरी ५७ जना र एक हजार १५० जना विद्यार्थीको बीमा गरिएको प्रधानाध्यापक झमरलाल चौधरीले बताउनुभएको छ । आगामी शैक्षिकसत्र २०८३ देखि शिक्षक तथा कर्मचारीको सङ्ख्या ६५ पु¥याउने लक्ष्य राखिएको छ ।
संस्थागत विद्यालयमा गुणस्तरीय पठनपाठन गराउँदै संस्थालाई अब्बल बनाउने प्रयास भइरहेको प्रधानाध्यापक चौधरीले बताउनुभएको छ । विद्यालयमा रु एक लाख बराबरको दुर्घटना बीमाका लागि वार्षिक रु १५० प्रिमियम बुझाउनुपर्ने जनाइएको छ ।
बीमा कम्पनीका प्रतिनिधि बाबुराम आचार्यले यस सहकार्यले विद्यार्थीको सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । बीमा कम्पनीसँगको सम्झौताले शैक्षिक क्षेत्रमा बीमा सेवाको पहुँच विस्तार हुनुका साथै विद्यार्थी तथा शिक्षकको सुरक्षामा थप टेवा पुग्ने विश्वास लिइएको विद्यालयले जनाएको छ ।


