खोटाङ, २१ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाँचवटा कार्यविधि तथा विधेयक पारित गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२, विज्ञापन व्यवस्थापन तथा नियमन विधेयक २०८२, अर्थ तथा सार्वजनिक लेखा समिति गठन तथा कार्य सञ्चालन कार्यविधि २०८२, बेरुजु फछ्र्यौट कार्यविधि २०८२ र आर्थिक वर्ष २०८२÷८३ को केही बजेट, योजना तथा कार्यक्रमहरुको संशोधन सम्बन्धी प्रस्ताव शनिबार आयोजित १४ औँ नगरसभाले पारित गरेको हो ।
जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजित नगरसभामा नगरसभा सदस्य एवम् वडा नं. १२ जालपाका वडाध्यक्ष दानबहादुर राईले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२, नगरसभा सदस्य एवम् वडा नं. ७ का वडाध्यक्ष हरिप्रसाद चौलागाईँले विज्ञापन व्यवस्थापन तथा नियमन विधेयक २०८२, नगरसभा सदस्य एवम् वडा नं. ५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरेले अर्थ तथा सार्वजनिक लेखा समिति गठन तथा कार्य सञ्चालन कार्यविधि २०८२, नगरसभा सदस्य एवम् वडा नं. ३ बाम्राङका वडाध्यक्ष महेन्द्रबहादुर राईले बेरुजु फछ्र्यौट कार्यविधि २०८२ र नगरसभा सदस्य एवम् वडा नं. १० पाथेकाका वडाध्यक्ष मुगाधन राईले योजना तथा कार्यक्रमहरुको संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । नगरप्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा बसेको नगरसभामा उपप्रमुख विशन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राई, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
नगरसभालाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख भट्टराईले आगामी वैशाख–३, ४ र ५ गते दिक्तेल बजारमा अन्तर्राष्ट्रिय रेडपाण्डा–थार महोत्सव गर्ने तयारी गरेको जानकारी दिनुभएको छ । यस्तै, सोही दिनबाट वैशाख–७ गतेसम्म शुभम् फाउण्डेशनमा नगरपालिकाभित्र सञ्चालित माध्यमिक तहका विद्यार्थीका लागि विज्ञान–गणित अन्वेषण प्रदर्शनीसमेत आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।


