काठमाडौं । सहकारी ठगी मुद्दामा दोषी ठहर भई फरार रहेकी एक महिला आज जेल चलान भएकी छिन् ।
ठगी मुद्दामा उच्च अदालत पाटनको २०७३ साल चैत ७ गतेको फैसलाबाट एक महीना कैद र रु १८ लाख ३१ हजार जरिवाना ठहर भएकी काठमाडौँ महानगरपालिका–२६ की प्रतिमा सिटौलालाई जेल चलान गरिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले सोमबार नुवाकोटको विदुरबाट सिटौलालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेश गरेकामा आजै अदालतले कारागार चलान गरेको हो ।
काठमाडौँको टोखा नगरपालिका–९ स्थित ‘नाङ्लो दीप सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड’ सञ्चालक सदस्य सिटौलासमेतका पदाधिकारीले आर्थिक वर्ष २०७०/७१ मा २०२ निक्षेपकर्तालाई प्रलोभनमा पारी रु एक करोड ८३ लाख १८ हजार आफूखुशी खाईमासी ठगी गरेको मुद्दामा सिटौला दोषी ठहर भएकी हुन् । ब्यूरोका प्रवक्ता दीपक रेग्मीले अदालतको आदेशअनुसार सिटौलालाई आजै केन्द्रीय कारागार सुन्धारा पठाइएको जानकारी दिनुभयो ।


