काठमाडौैं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको नीति, कार्यक्रम, बजेट योजना र नयाँ कार्यसम्पादनलाई आत्मसात् गरी काम गर्न मातहात निकायलाई निर्देशन दिनुभएको छ । आव २०७५/७६ मा रक्षा मन्त्रालय र नेपाली सेनाबाट सम्पादित विकास कार्यक्रम र योजनाको वार्षिक प्रगति समीक्षा गर्न मन्त्रालयमा आज आयोजित कार्यक्रममा उहाँले आगामी दिनमा वार्षिक कार्ययोजनाअनुरुप लक्ष्य हासिल गर्ने ढङ्गबाट कार्यसम्पादन गर्न सुझाव दिनुभएको हो ।
उपप्रधानमन्त्री पोखरलेले भन्नुभयो, “परिणाम दिने गरी काम गर्नुस्, औपचारिक ढङ्गबाट मात्र होइन, दिएको जिम्मेवारी पूरा गर्न अनौपचारिक रुपमा पनि हुटहुटी हुनुपर्छ, व्यवस्थित र प्रभावकारी कार्ययोजना बनाई एकअर्को निकायबीच समन्वयन गरी काम गर्नुस् ।”रक्षा मन्त्रालयको बजेट तजविजमा होइन, नीतिगत मान्यताका आधारमा विनियोजन हुनुपर्छ भन्दै उहाँले राज्यको विकास र समृद्धिसँग जोडिएको कामलाई एकले अर्कोलाई दोष दिएर पन्छाउने प्रवृत्तिको अन्त्य गर्न आग्रह गर्नुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले मन्त्रालयको प्रगति विवरण निकै उत्साहजनक भए पनि अझै सुधारको खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दु्रतमार्ग सबैको चासो भएकाले यसलाई अझै द्रुतगतिमा अघि बढाउने काम होस्, दिगो विकासका लक्ष्य प्राप्त गर्न राष्ट्रिय गौरवका आयोजनालाई तीव्रताका साथ कार्यान्वयनमा लैजानुपर्छ ।”
मन्त्रालयका सहसचिव बाबुराम गौतमले आव २०७५÷७६ मा मन्त्रालयले चालूतर्फ ९८ र भौतिकतर्फ ९५ प्रतिशत प्रगति हासिल गरेको जानकारी दिनुभयो । राष्ट्रिय योजना आयोगका सहसचिव किरण तिवारीले निर्णय गर्दै जाने अनि राष्ट्रिय गौरवकै आयोजनाको प्रगति सन्तोषजनक नहुने अवस्थाको अन्त्य गर्न थप गृहकार्य र समन्वयको खाँचो औँल्याउनुभयो ।


