जिसस खोटाङको दशौँ जिल्लासभा : दशजना व्यक्ति तथा नौँ संस्था सम्मानित

Halesi Khabar

खोटाङ, २५ चैत । जिल्ला समन्वय समिति खोटाङले विभिन्न क्षेत्रमा योगदान गर्ने दशजना व्यक्ति तथा नौँवटा संस्थालाई सम्मान गरेको छ । जिसस खोटाङले आफ्नो दशौँ जिल्लासभा, सङ्घीय तथा प्रदेश सरकार अन्तरगतका सरकारी कार्यालयहरु र जिल्लास्थित दशवटै स्थानीय तहले गरेका कार्यक्रमको अर्धवार्षिक समीक्षाको अवसर पारेर आज (बुधबार) व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुने व्यक्तिहरुमा नेपाल पत्रकार महासङ्घ खोटाङका निवर्तमान अध्यक्ष दिलीप खत्री, खेलकुद प्रतिष्ठान नेपाल खोटाङका अध्यक्ष सञ्जयकुमार राई, जिल्ला फुटबल सङ्घ खोटाङका अध्यक्ष ध्रुवबिक्रम राई, सिर्जनशील नेपाली कागज उद्योग सञ्चालक जयनारायण राई, सिनियर अहेव राजकिशोर साह, खेलाडी रोसेश श्रेष्ठ, निर्माण व्यवसायीहरु महेश रेग्मी र जोसेफ रिजाल, अगुवा कृषकहरु सरला राई र जीवनाथ आचार्य रहनुभएको छ । यस्तै, संस्थातर्फ दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा, साकेला, रावाबेँसी र केपिलासगढी गाउँपालिका, दिक्तेल अङ्ग्रेजी आवासीय विद्यालय, एरिया वेलफेयर अफिस तथा शुभद्रा–मदन फाउण्डेशन रहेका छन् ।

सम्मानित व्यक्ति तथा संस्थालाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एवम् श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको छ ।
विभिन्न क्षेत्रबाट जिल्लाको समग्र विकास, सेवा प्रवाह र सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान पु¥याउने दशजना व्यक्ति तथा नौँवटा संस्थालाई सम्मान गरिएको जिसस खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिनुभएको छ ।

रोदिकखबर डटकम तथा खोटाङखबर साप्ताहिकका सम्पादक खत्रीलाई खोटाङ जिल्लामा निष्पक्ष, सन्तुलित र सक्रिय पत्रकारिता गर्दै सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकोमा सम्मान गरिएको आयोजकले जनाएको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई जैविक विविधता संरक्षण, जलवायु अनुकूलनमा स्थानीय स्रोत परिचालन तथा पर्यटन प्रवद्र्धनमा योगदान गरेकोमा सम्मान गरिएको हो ।

हलेसी तुवाचुङ नगरपालिकालाई महिला सशक्तीकरण तथा बालिका संरक्षण कार्यक्रम सञ्चालन गरेकोमा, जन्तेढुङ्गा गाउँपालिकालाई स्थानीय आर्थिक विकास मूल्याङ्कन, ब्लकस्तरीय कृषि उत्पादन र आवासीय विद्यालय सञ्चालन गरेकोमा सम्मान गरिएको छ । साकेला गाउँपालिकालाई सरसफाइ तथा फोहरमैला व्यवस्थापनमार्फत वातावरणीय सन्तुलन कायम गरेकोमा, रावाबेँसी गाउँपालिकालाई स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन तथा वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा उच्च अङ्क प्राप्त गरेकोमा तथा केपिलासगढी गाउँपालिकालाई बुहारी शिक्षा तथा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गरेकोमा सम्मान गरिएको छ ।

दिक्तेल अङ्ग्रेजी आवासीय विद्यालयलाई सबैभन्दा बढी राजस्व दाखिला गरेकोमा, शुभद्रा–मदन फाउण्डेसनकालाई सामाजिक तथा विकाससम्बन्धी कार्यमा योगदान पु¥याएकोमा सम्मान गरिएको जनाइएको छ । खेलकुद तथा सामाजिक क्षेत्रमा योगदान पु¥याएकोमा ध्रुवबिक्रम, सञ्जयकुमार र रोसेशलाई सम्मान गरिएको छ ।

सिर्जनशील नेपाली कागज उद्योग सञ्चालन गर्दै स्थानीय कच्चा पदार्थमा आधारित उद्योग प्रवद्र्धन गरेकोमा जयनारायण राई, स्वास्थ्य सेवामा प्रशंसनीय योगदान गरेकोमा राजकिशोर साहलाई सम्मान गरिएको छ । महेशलाई कोशी प्रदेशकै सबैभन्दा लामो १४८.४० मिटर लम्बाइको बुँवाखोला सडक पुल एक वर्षभित्र सम्पन्न गरेकोमा तथा जोसेफलाई निर्माण व्यवसाय क्षेत्रमा महत्वपूर्ण योगदान दिएकोमा सम्मान गरिएको छ ।

गोर्खा वेलफेयर ट्रष्ट अन्तरगतको एरिया वेलफेयर अफिसलाई सामाजिक सेवा तथा भौतिक पूर्वाधार निर्माणमा सहयोग पु¥याएकोमा तथा सरला र जीवनाथलाई अगुवा कृषकका रूपमा सम्मान गरिएको जनाइएको छ । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजित कार्यक्रममा राजनीतिक दलका प्रमुख प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

दुई दिनसम्म सञ्चालन हुने जिल्लासभा तथा अर्धवार्षिक समीक्षा कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयहरूले चालु आर्थिक वर्षमा गरेका काम तथा प्रगतिबारे प्रतिवेदन प्रस्तुत गर्नेक्रम जारी छ । जिल्लासभा तथा अर्धवार्षिक समीक्षा कार्यक्रममा विकास निर्माण, सेवा प्रवाह तथा आगामी योजनाबारे समीक्षा हुने जिसस खोटाङका उपप्रमुख सुरेशकुमार तामाङले जानकारी दिनुभएको छ ।

 

तपाईको प्रतिक्रिया