खोटाङमा ५० शय्याको अस्पताल कार्यान्वयन गर्न कोशी प्रदेशका स्वास्थ्यमन्त्रीलाई ज्ञापन

Minakshi Rai

खोटाङ, २२ भदौ । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीसमक्ष जिल्ला अस्पताल खोटाङ अस्पताल विकास तथा व्यवस्थापन समितिले ५० शय्याको स्वास्थ्य सेवा उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । जिल्लामा पर्याप्त विशेषज्ञ तथा स्वास्थ्य सेवा उपलब्ध नहुँदा सामान्यदेखि जटिल प्रकृतिका बिरामीलाई उपचारका लागि हेलिकोप्टर चार्टर गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको जानकारी गराउँदै तत्काल ५० शय्याको स्वास्थ्य सेवा उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

सुविधा सम्पन्न अस्पताल नहुँदा आकस्मिक उपचारका लागि रु साढे तीन लाखसम्ममा निजी कम्पनीको हेलिकप्टर चार्टर गर्नुपर्ने तथा उपचारमा ठूलो धनराशि खर्च गर्नुपर्ने अवस्था विद्यमान रहेको समितिले स्वास्थ्यमन्त्री पराजुलीलाई जनाएको छ । जिल्ला अस्पतालको अनुगमन तथा स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन सोमबार खोटाङ आउनुभएका मन्त्री पराजुलीलाई अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जिल्लावासी सम्पूर्णको तर्फबाट ज्ञापनपत्र बुझाउनुभएको हो ।

जिल्लावासीको स्वास्थ्य अधिकार र सहज स्वास्थ्य सेवाको आवश्यकतालाई मध्यनजर गर्दै तत्काल ५० शय्याको अस्पताल प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार, चिकित्सा उपकरण, प्राविधिक जनशक्ति तथा नेपाल सरकारको प्रचलित मापदण्डअनुसार आवश्यक दरबन्दी स्वीकृत गरिदिन समितिले माग गरेको छ । दिक्तेलमा निर्माणाधीन ५० शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार तत्काल व्यवस्थापन गर्नुपर्ने, विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीको दरबन्दी मापदण्डअनुसार स्वीकृत गरी पदपूर्ति गर्नुपर्ने समितिले बुझाएको माग गरिएको अध्यक्ष राईले जानकारी दिनुभएको छ ।

त्यस्तै, अत्याधुनिक स्वास्थ्य उपकरण तथा प्रयोगशाला सेवा विस्तार, आकस्मिक तथा विशेषज्ञ स्वास्थ्य सेवाको प्रभावकारी व्यवस्था र अस्पताल सञ्चालनका लागि आवश्यक बजेट तथा स्रोत सुनिश्चित गर्नुपर्ने मागपत्रमा उल्लेख छ । जिल्लामै विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गरी नागरिकलाई उपचारका लागि बाहिरी जिल्ला तथा राजधानी धाउनुपर्ने बाध्यता अन्त्य गर्नुपर्नेमा समेत समितिले जोड दिएको छ ।

भवनका लागि फर्निचर तथा फिक्स्चर खरिद गर्न रु २० लाख, फिजियोथेरापी उपकरण खरिदका लागि रु १५ लाख र डेन्टल सेवा उपकरण खरिदका लागि रु १५ लाख आवश्यक पर्ने उल्लेख छ । हेमाटोलोजी तथा माइक्रोबायोलोजी प्रयोगशालाका उपकरण तथा औजार खरिदका लागि रु २५ लाख आवश्यक पर्ने समितिले जनाएको छ ।

यस्तै, १२ च्यानलको ईसिजी मेसिन, बाइफेजिक डिफिब्रिलेटर, इलेक्ट्रोसर्जिकल कटराइजेसन मेसिन, शल्यक्रियाअनुसारको अपरेसन थिएटर उपकरण सेट, अटोक्लेभ, ड्रिल मेसिन, पोर्टेबल अल्ट्रासोनोग्राफी मेसिन, भेन्टिलेटर, बाइप्याप मेसिन, नेबुलाइजर, एनेस्थेसिया मेसिन, इन्फ्युजन वार्मिङ मेसिन, ४३ लिटर क्षमताको हट एयर ओभन, केमिकल ब्यालेन्स, सेन्ट्रिफ्युज मेसिन, वाटर बाथ तथा उचाइ र तौल मापन उपकरण खरिदका लागि रु एक करोड ५० लाख आवश्यक पर्ने ज्ञापनपत्रमा उल्लेख छ । अस्पताल विकास तथा व्यवस्थापन समितिले बुझाएको ज्ञापनपत्र ग्रहण गर्नुहुँदै मन्त्री पराजुलीले मन्त्रालय फर्किएर आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

निर्माणाधीन अस्पताल भवन निरीक्षणपछि आयोजित छलफल कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले आर्थिक रूपमा कमजोर, दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिक स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित भइरहेको बताएका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा गुणस्तरीय, भरपर्दो र विशेषज्ञ सेवासहितको अस्पताल सञ्चालन हुन सके नागरिकले समयमै उपचार पाउनुका साथै उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता र आर्थिक भारसमेत घट्ने उनीहरूको भनाइ छ ।

वि.सं. २०४९ वैशाख–१ गते १५ शय्या क्षमतामा स्थापना गरिएको जिल्ला अस्पताल खोटाङलाई वि.सं. २०८२ असार–२२ गते ५० शय्याको सेवा विस्तार गरिएको भनिएको थियो । कोशी प्रदेश सरकारका तत्कालीन भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले सेवा विस्तारको घोषणा गर्नुभएको जिल्ला अस्पतालमा अहिलेसम्म उक्त सेवा उपलब्ध नरहेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

अस्पताल स्थापना भएको ३३ वर्षपछि ५० शय्यामा स्तरोन्नतिको घोषणा गरिएको अस्पतालका लागि निर्माणाधीन भवन अहिलेसम्म पनि सम्पन्न भएको छैन । निर्माणाधीन अस्पताल भवनको काम सम्पन्न नभइ हचुँवाको भरमा ५० शय्याको सेवा शुभारम्भ गरिएको भन्दै स्थानीयले जिल्लामा हुने सार्वजनिक कार्यक्रम तथा सामाजिक सञ्जाल फेसबुकमा पूर्वमन्त्री राईको कदमप्रति बिरोध जनाइरहेका छन् ।

तपाईको प्रतिक्रिया