खोटाङ, २० भदौ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह सुरु गरेको छ । वि.सं. २०७७ असार–३० गते ठेक्का सम्झौतागरी निर्माण सुरु गरिएको २७ कोठे चारतले प्रशासनिक कार्यालय भवन सात वर्षपछि सम्पन्न भएसँगै गाउँपालिकाको सम्पूर्ण सेवा आज (आइतबार)देखि आफ्नै प्रशासनिक कार्यालय भवनबाट सुरु गरिएको हो ।
प्रशासनिक भवनका लागि वि.सं. २०८० असार–२२ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी ठेकेदार कम्पनी रविना–अविसासँग सम्झौता गरिएको थियो । तर, निर्धारित समयभन्दा करिब छ वर्ष दुई महिनापछि भवन निर्माण सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी मुकेश गेललाले जानकारी दिनुभएको छ ।
प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण सुरु गरिएको गाउँपालिकाको प्रशासनिक भवनका लागि गाउँपालिकाले रु. चार करोड ९५ लाख ९७ हजार ७१५ लागत अनुमान गरेको थियो । ठेकेदार कम्पनीले भने मूल्य अभिवृद्धि करसहित रु. तीन करोड ७५ लाख ४९ हजार ३३२ मा निर्माण सम्पन्न गरेको हो ।
गाउँपालिकाको नवनिर्मित प्रशासनिक कार्यालय भवन आइतबार गाउँपालिका अध्यक्ष लोकेन्द्र राई र उपाध्यक्ष अरुणा थापामगरले औपचारिक उद्घाटन गर्दै कार्यालयको सेवा प्रवाहको शुभारम्भ गर्नुभएको छ । भवन उद्घाटन तथा प्रशासनिक सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष राईले ढिलै भए पनि गाउँपालिकाको आफ्नै प्रशासनिक कार्यालय भवनबाट जनतालाई सेवा प्रवाह गर्न पाउँदा खुसी लागेको बताउनुभएको छ ।
गाउँपालिकाको नवनिर्मित प्रशासनिक कार्यालय भवनका लागि आवश्यक फर्निचसमेत ठेकेदार कम्पनीमार्फत खरिद गरिएको जनाइएको छ । फर्निचर खरिदका लागि रु. ९३ लाख ६२ हजार २१० मा ईन्द्रलक्ष्मी कन्स्ट्रक्सनसँग सम्झौता गरिएको थियो ।
वि.सं. २०८० भदौ–३१ गते सम्झौता गरिएको उक्त काम वि.सं. २०८१ जेठ–२० गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । फर्निचर खरिदमा रु. ६४ लाख ३३ हजार ५५५ खर्च भएको गाउँपालिकाका सूचना अधिकारी गेललाले जानकारी दिनुभएको छ ।
गाउँपालिकाको प्रशासनिक कार्यालय भवन निर्माणका लागि स्थानीय चार दाताले सात रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । वडा नम्बर–५ याङ्सोलाटार निवासी होमप्रसाद राई, हर्कराज राई, भविन्द्र राई र ईन्द्रप्रकाश राईले आफ्नो नामको जग्गा गाउँपालिकाको नाममा निःशुल्क पास गरिदिनुभएको हो ।
स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गामा अस्थायी टहरा निर्माण गरेर सञ्चालन गरिएको गाउँपालिका प्रशासनिक भवन सुविधा सम्पन्न भवनमा सारिएसँगै सेवा प्रवाहमा सहज भएको जनाइएको छ । तत्कालीन गाउँपालिका अध्यक्ष हाल प्रदेशसभा सदस्य एवम् पूर्व भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राई नेतृत्वको जनप्रतिनिधिले प्रशासनिक भवन निर्माणको काम सुरु गरेको हो ।


