खोटाङ, २३ भदौ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम सुरुवात् गरेको छ । आयुर्वेदिक उपचार पद्धतिमार्फत बालबालिकाको स्वास्थ्य प्रवद्र्धन तथा शारीरिक र मानसिक विकासमा सहयोग पु¥याउने उद्देश्यले जिल्लामा पहिलोपटक स्वर्णबिन्दु प्राशन कार्यक्रम सुरु गरिएको हो ।
नेपाल सरकारले निर्धारण गरेको स्वर्णबिन्दु प्राशन कार्यक्रम लागू गरिएकै दिन आज (मङ्गलबार) जिल्लाका २०७ जना बालबालिकाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जानकारी दिएको छ । निर्धारित कार्यक्रमअनुसार जन्मिएर एक वर्ष पूरा भएका र पाँच वर्ष ननाघेका बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउने गरिएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा पहिलोपटक सञ्चालन गरिएको यो कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग अपरिहार्य रहेको उद्घाटन कार्यक्रमका वक्ताहरुले बताएका छन् । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले औपचारिक उद्घाटन गर्नुभएको कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, अभिभावक तथा सरोकारवाला निकालयको सहभागिता थियो ।
स्वर्णबिन्दु प्राशन कार्यक्रमलाई सरकारले राष्ट्रिय कार्यक्रमका रूपमा सञ्चालन गर्न ‘बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन निर्देशिका–२०८२’ जारी गरेको छ । स्वर्णबिन्दु प्राशन कार्यक्रम बालबालिकाको स्वास्थ्य प्रवद्र्धन र रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नु रहेको निर्देशिकामा उल्लेख छ ।
आयुर्वेदिक उपचार पद्धतिमार्फत बालबालिकाको स्वास्थ्य र रोगप्रतिरोधात्मक क्षमतासँग जोडेर स्वर्णबिन्दु प्राशन गराउने गरिएको छ । सामान्यतया प्रशोधित स्वर्ण भस्म, गाईको घिउ÷ब्राह्मी घृत र महलगायतका सामग्रीबाट तयार गरिएको औषधीय मिश्रण थोपालाई स्वर्णबिन्दु भन्ने गरिएको छ ।
सरकारले निर्धारण गरेको कार्यक्रमअन्तरगत निश्चित उमेर समूहका बालबालिकालाई आयुर्वेद स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा स्वर्णबिन्दु प्राशन गराउने गरिन्छ । जन्मेको छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउने व्यबस्था भएपनि जिल्लामा एक बर्ष पूरा भइ पाँच बर्ष ननाघेका बालबालिकालाई मासिक रुपमा व्यवस्था मिलाइएको जिल्ला आयुर्वेद अस्पताल खोटाङका प्रमुख डा. सर्बेन्द्र यादवले जानकारी दिनुभएको छ ।
स्वर्णबिन्दु प्राशनमा सहभागी तथा छुटेका बालबालिकालाई आगामी असोज–१९ गते, कातिक–१६ गते, मङ्सिर १३ गते, पुस–११ गते, माघ–९ गते, फागुन–८ गते र चैत–४ गते पुनः कार्यक्रम राखिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले बालबालिकाको स्वास्थ्यप्रति अभिभावकमा सचेतना बढाउने तथा जिल्लामा आयुर्वेदिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरेको हो ।
स्वर्णबिन्दु प्राशन कार्यक्रमको प्रभावकारिता, प्रयोग हुने औषधिको संरचना, मात्रा र सेवनको अवधिका विषयमा भने आयुर्वेद स्वास्थ्यकर्मीको सल्लाहअनुसार मात्रै प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । ज्वरो, झाडापखाला, अजीर्ण, रुघाखोकी लगायतका स्वास्थ्य समस्या भएका बालबालिकालाई भने स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी गराउन नहुने जनाइएको छ ।


