प्रतिनिधिसभाको बैठक २० गते सम्मका लागि स्थगित, सहमतिको प्रयास जारी

Halesi

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा केही दिनदेखि जारी अवरोध हटाउने विषयमा राजनीतिक दलबीच सहमति नभएपछि आजको बैठक पनि स्थगन भएको छ ।

अवरोध हटाउने सम्बन्धमा सभामुख कृष्णबहादुर महराले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा सत्तापक्ष र प्रतिपक्ष सर्लाही घटनाका विषयमा संसदीय समिति गठन गर्ने वा नगर्ने विषयमा आआफ्ना अडानमा रहेपछि सहमति हुन नसकेको हो । सहमतिका लागि थप छलफल आवश्यक रहेको भन्दै संसद् बैठक सोमबारसम्मका लागि स्थगन गरिएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।

“सहमतिका लागि थप छलफल आवश्यक देखिएकाले दलको सहमतिमै सोमबार सम्मका लागि संसद् बैठक स्थगन गरिएको छ”, सर्वदलीय बैठकपछि उनले भने ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सचेतक पुष्पा भुसालले सर्लाही घटनाका सम्बन्धमा संसदीय छानविन समिति बनाउनुपर्छ भनेर आफूहरुले माग राखेको र सबै दलले आन्तरिकरुपमा थप छलफलको आवश्यकता महसुस गरेको बताए ।

समाजवादी पार्टी नेपालका सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सर्लाही घटनाका सम्बन्धमा संसदीय छानविन समिति बनाउने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने दुवै विषय लोकतान्त्रिक हुने आफूले सुझाव दिएको बताए ।

सर्लाहीमा गत असार ५ गते विप्लब समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल प्रहरीको दोहोरो भिडन्तमा मारिएका थिए । सर्लाहीमै बालुवा उत्खनन गरिएको स्थलमा पौडी खेलेर १२ वर्षीय बालक अमित रायको मृत्यु भएको घटनालाई लिएर प्रदर्शनमा उत्रिएका स्थानीयवासी र प्रहरीको झडपमा एक जनाको मृत्यु भएको थियो ।

उक्त दुवै विषयमा प्रमुख प्रतिपक्षी दललगायत संसदीय छानविन समिति गठनको मागका साथ केही दिनदेखि संसद् बैठक अवरोध गर्दै आएका छन् । प्रतिपक्षी दलले तराई–मधेश आन्दोलनका क्रममा भएका क्षतिका सम्बन्धमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वमा गठित समितिको प्रतिवेदनसमेत सार्वजनिक गर्न माग गर्दै आएका छन् । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २० गते बिहान ११ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया