काठमाडौं– खानेपानी मन्त्रालयले छैटौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात गरेको छ । खानेपानी मन्त्री बिना मगरले मन्त्रालयको भवनबाटै स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरु गरेकी हुन् ।
दुई रुपैंयाको सिक्का हालेपछि उक्त मेसिनबाट प्याड आफैं निस्किन्छ । मन्त्रालयमा कार्यरत महिला कर्मचारीहरु र काम विशेषले आउने जो कोही महिलाहरुले समेत उक्त प्याड प्रयोग गर्न सक्नेछन् । मन्त्रालयको महिला शौचालयमा प्याड मेसिन जडान गरिएको छ ।
मन्त्री वीनाले महिनावारी भएकी महिला र जातिय आधारमा गरिदै आएको छुवाछुतको अन्त्य नभएसम्म महिलाले सम्मानित जीवन जीउने वातावरण श्रृजना हुन नसक्ने बताइन। महिनावारी प्राकृतिक र नियमित प्रक्रिया हो भन्ने जनचेतना लक्षित समुदायसम्म पुगे पुगेनन् भन्ने विषय नै सबै भन्दा महत्वपुर्ण भएको भन्दै उनले कार्यक्रम प्रभावकारिताको अनुगमनमा पनि ध्यान दिनुपर्नेमा जोड दिए। छैटौ अन्तराष्ट्रिय महिनावारी दिवसको यस वर्षको नारा मर्यादित महिनावारी अब त काम थालौ’ भन्ने रहेको छ।
उनले महिनावारी हुँदा महिलाहरुमाथि गरिने धार्मिक तथा सामाजिक विभेदको अन्त्य घरबाटै सुरु गर्नुपर्ने धारण पनि राखिन् ।


