खोटाङ, नेपाल कम्यूनिष्ट पार्टी खोटाङको नयाँ कमिटिमा समावेश नेताहरुले शपथग्रहण गरेका छन् । पार्टी एकता टुंग्याउनेक्रममा पुर्वमाओबादीले अध्यक्ष र पुर्वएमालेले सचिव पाएको जिल्लामा १३७ सदस्यीय जिल्ला कमिटिलाई पूर्णता दिएसँगै मंगलबार सपथग्रहण गराइएको हो । जिल्ला समन्वय समितिको समिक्षालय हलमा आयोजित कार्यक्रममा नेकपाका १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले नेकपाको नयाँ कमिटिमा आवद्ध नेता तथा कार्यकर्तालाई सपथग्रहण गराएका हुन् ।
देवान किराती ‘पृथ्बी’ अध्यक्ष र बबी चामलीङ सचिव रहेको नेकपाको जिल्ला कमिटिमा पुर्वएमालेबाट ७९ जना र पुर्वमाओबादीबाट ५८ जना समेटिएका छन् । सपथग्रहणका लागि दुई वटा नगरपालिका र आठ गाउँपालिकाका नेकपा नेता दिक्तेल भेला भएका छन् ।
नेतृत्वका लागि अन्य नेताबीचमा हानाथाप चलिरहेकाबेला पुर्वमाओबादीका किरातीले अध्यक्ष र पुर्वएमालेका नेता चामलीङले नेकपाको सचिवको जिम्मेवारी पाएका हुन् । किराती र चामलीङ नेकपाको १ नम्बर प्रदेश कमिटि सदस्य पनि हुन् ।


