घोराही । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व समूहका दाङ जिल्ला कमिटी सदस्य तथा घोराही नगर इन्चार्ज रहेका सहदेव थारू ‘बिहानी’ले पदबाट राजीनामा दिएका छन् ।
उहाँले बिहीबार घोराहीमा पत्रकार सम्मेलन गरी आफूलाई पार्टीको नीति, सिद्धान्त, विचार मन नपरेको कारण देखाउँदै पार्टीबाट राजीनामा दिएको बताए । उनले अब आफू पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको र आम नागरिकसरह जीवनयापन गर्न चाहेको बताए । पछिल्लो समय विप्लव समूहले गरेको हिंस्रक गतिविधिले समाजमा सकारात्मक सन्देश नदिएको हुँदा आफूले उक्त समूह परित्याग गरेको उनको भनाइ थियो ।
आम नागरिकले अब देशमा शान्ति चाहिरहेको अवस्थामा फेरि पनि युद्धको झल्को दिने गतिविधि गर्नु उचित नभएको उनले बताए ।उनलाई वैशाख १३ गते प्रहरीले सार्वजनिक अपराधको मुद्दा लगाउँदै गिरफ्तार गरेको थियो भने उच्च अदालत तुलसीपुरबाट बन्दी प्रत्यक्षीकरणमाथि बहस गर्दै रिहा गर्न आदेश दिए पनि प्रहरीको उच्च निगरानीमा थिए।


