काठमाडौं। विवाह मण्डपमै बेहुली छाडेर भाग्ने बेहुला प्रहरीको फन्दामा परेका छन् ।माग बमोजिमको दाइजो नदिएको भन्दै विवाह गर्न अस्वीकार गर्दै मण्डपबाटै भागेका मोरङ जहदा गाउँपालिका–४ का २४ वर्षिय लक्ष्मण राजवंशी प्रहरी फन्दामा परेका हुन् ।
परम्परागत रुपमा गत जेठ ४ गते जहदाकै २१ वर्षीय युवतीसँग विवाह भइरहेको अवस्थामा राजवंशीले माग बमोजिमको दाइजो नदिएको भन्दै विवाह मण्डपबाटै उठेर हिँडेका थिए ।
दुवै पक्षको परिवारबीच कुराकानी मिली राजीखुसीका साथ गत जेठ ३ गते विवाह गर्ने तय भएअनुसार सम्पूर्ण तयारी पूरा भएको थियो ।राजवंशीले बेहुली पक्षलाई मोटरसाइकल, सुनको सिक्री र डायनिङ टेबल दिनुपर्ने भन्दै बेहुली पक्षलाई दबाब दिएका थिए ।
यता बेहुली पक्षले दिन नसक्ने भनेपछि राजवंशी विवाहको मण्डप नै छाडेर भागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
उनले भने, राजवंशीलाई मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाह सम्बन्धि कसुर बमोजिम जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।राजवंशीलाई प्रहरीले चार दिनपछि पक्राउ गरेर अदालतमा पेश गरेको हो । राजवंशीलाईे पक्राउ गरी मुद्दा चलाउन अदालतबाट म्याद थप गरी अुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


