काठमाडौं । नेपाल र भारत सरकारकाबीच रेल खरिद सम्झौता भएको छ। शुक्रबार नेपालका तर्फबाट रेल विभागका महानिर्देशक बलराम मिश्र र भारतका तर्फबाट कोंकण रेलवे कर्पोरेसन लिमिटेडका चिफ म्यानेजिङ डाईरेक्टर सञ्जय गुप्ताबीच डिजेल इलेक्ट्रिक मल्टियुनिट डिइएमयुमा आधारित रेल खरिद गर्न सम्झौता भएको हो।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीको उपस्थितिमा सम्झौता भएको हो। रेल विभागका महानिर्देशक बलराम मिश्रले चार महिनामा रेल उपलब्ध गराउने सम्झौता भएको जानकारी दिए। सबै तयारी गरेर रेल संचालन गर्दा पाँच महिना लाग्ने मिश्रले जानकारी दिए। सबै काम योजना अनुसार भए आगामी असोजसम्ममा रेल संचालनमा आउने छ।
असारबाट चलाउन खोजेको भारतमा आम निर्वाचनका कारण सम्झौता हुन सकेन मिश्रले भने रेल खरिदका लागि दुई देशका बीचमा सम्झौता हुनु नेपालका लागि ऐतिहासिक उपलब्धी भएको छ।जिटुजी मार्फत रेल खरिद गरेर ल्याउन लागिएकाले सामान्य सप्लायर जस्तो नहुने भन्दै समयमै आउने मिश्रले दाबी गरे।
डिइएमयुमा आधारित दुई सेट रेल ८४ करोड ६५ लाख ९४ हजार ६ सय कर सहित रुपैयाँमा खरिद गर्न लागिएको हो। डिइएमयुमा ट्रेन सेटमा ५ वटा डिब्बा हुन्छन्। मुख्य र सहायक गरि दुईवटा इन्जिन हुन्छ भने यो रेललाई नघुमाई दुवैतिरबाट संचालन गर्न सकिन्छ।
वेट लिजमा लिएर संचालन गर्ने योजना बनाएको थियो तर प्रधानमन्त्री केपी शर्मा ओलीले खरिद गरेर आफ्नै झण्डा भएको रेल खरिद गर्न निर्देशन दिएपछि खरिद प्रक्रिया अघि बढाएको रेल विभागले जनाएको छ। आफ्नै झण्डावाला रेल संचालन हुने भएपनि तत्कालका लागि भारतीय प्राविधिक ल्याएर संचालन गरिने छ। नेपालका प्राविधिक सक्षम भएपछि आफैले संचालन गर्नेछन्।
रेल खरिद गरेर भारतको जयनगरदेखि जनकपुरसम्म करिव ३५ किमी खण्डमा संचालन गर्न लागिएको हो। यो खण्डमा रेलमार्गको लिक विछ्याएर परिक्षण समेत गरिसकिएको छ।


