दिक्तेलबजारमा भुसिया कुकुरको बिगबिगी : रातको समयमा आवतजावत गर्न समस्या

Minakshi Rai
।

खोटाङ, ९ असोज । दिक्तेलबजारको सौन्दर्यकरणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विभिन्न समयमा बजेट विनियोजन गरेर भौतिक संरचना निर्माण तथा सरसफाइका अभियानहरु सञ्चालन गरिरहेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा पर्ने दिक्तेलबजारको सौन्दर्यकरणका लागि प्रदेश तथा सङ्घीय सरकारसँगको साझेदारीमा नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेर सौन्दर्यकरणका लागि सडक ढलान, सडकबत्ती तथा सिसी टिभी जडान गरेको गरेको हो ।

दिक्तेलबजारमा जिल्लाका सबै सरकारी तथा गैरसरकारी कार्यालयहरु सञ्चालित छन् । जिल्ला अदालत, जिल्ला प्रशासन, जिल्ला अस्पताल, नेपाली सेनाको रणभीम गण, नेपाल प्रहरी एवम् सशस्त्र प्रहरीको कार्यालय तथा दिक्तेल बहुमुखी क्याम्पस, सरस्वती माध्यमिक विद्यालय, दिक्तेल ईङ्ग्लिस बोर्डिङ स्कूल, माउन्ट एभरेष्ट बोर्डिङ स्कूल, हिलसाईट स्याम्पल एकेडेमीलगायत शैक्षिक संस्थाहरु दिक्तेलबजार आसपासमै रहेका छन् ।

दैनिकजसो किनमेल, प्रशासनिक काम तथा अध्ययन÷अध्यापनका लागि आवतजावत गर्ने मानिसको बाक्लो चहलपहल हुने दिक्तेलबजारका विभिन्न ठाउँमा जडान गरिएका सडकबत्तीमध्ये अधिकांश बल्दैन । राज्यकोषको लाखौँ रकम खर्चिएर दिक्तेलबजारको विभिन्न चोक तथा मानिसको बढी भीडभाड हुने ठाउँमा जडान गरिएका सिसी टिभीले काम गर्न छाडेको समेत धेरै वर्ष भयो ।

दिक्तेलबजारको सौन्दर्यकरणमा करोडौँ सरकारी बजेट लगानी भएपनि सडकबत्ती अभावमा भुसिया कुकुरको बिगबिगीले नगरवासी तथा आगन्तुक हैरानीमा पर्दै आएका छन् । रातको समयमा विभिन्न चोक, वथशाला र होटल अगाडि हुल बाँधेर बस्ने भुसिया कुकुरले धेरैजना नगरवासी तथा आगन्तुकलाई टोकेर घाइतेसमेत बनाएका छन् ।

दिक्तेलबजारमा वर्षौँदेखि समस्याको रुपमा रहेको भुसिया कुकुर नियन्त्रणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रयास नगरेको भने होइन । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (पन्ध्र वडा रहेको) यो नगरपालिकाको तत्कालीन नगरप्रमुख दीपनारायण रिजालको पालामा भुसिया कुकुर व्यवस्थापनको काम सुरु गर्दा पशु अधिकारकर्मीले आवाज उठाएपछि व्यवस्थापनको कामबाट नगरपालिका पछाडि हटेको थियो ।

वर्तमान नगरप्रमुख तीर्थराज भट्टराईको पालामा गत वर्ष दिक्तेलबजारका भुसिया कुकुर व्यवस्थापन गर्न बन्ध्याकरण शिविरसमेत सञ्चालन गरिएको थियो । उसबेला नगरपालिकाको पशु शाखाले आयोजना गरेको शिविरमा करिब ३०० कुकुरको बन्ध्याकरण गरिएको थियो । तर, दिक्तेलबजारमा रहेका भुसिया कुकुरको समस्या अहिले पनि ज्यूँकात्यूँ रहँदा स्थानीयवासी तथा आगन्तुक हैरानीमा परेका छन् ।

दिक्तेलबजारका जुनसुकै ठाउँमा रातको समय यात्रा गर्दा सुरक्षाका लागि लौरो अनिवार्य बोक्नुपर्ने अवस्था रहेको पेट्रोलपम्प नजिकै बस्दै आउनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका लालबहादुर मगर ‘एलबी’ले बताउनुभयो । “म सालपा कृषि कम्पनीको कामले राति अबेरमात्र कोठा फर्कन्छु । सडकभरी हुल बाँधेर बसेका कुकुरले छिर्न दिँदैन”, उहाँले भन्नुभयो, “कोठा जानेबेला भयो कि हरेक दिन साथी खोज्नुपर्ने हुन्छ । एक्लै भएको अवस्थामा लौरो बोकेर हँिड्ने गरेको छु ।”

मध्यपहाडी लोकमार्गको दिक्तेलस्थित पेट्रोलपम्पदेखि रत्नपार्क, सङ्गमपार्क, मानवअधिकार चोक, पूरानो बेसक्याम्प, त्रिवेणीचोक, भानुचोक, हाटडाँडा तथा अस्पताल चोकमा सबैभन्दा बढी भुसिया कुकुरको बिगबिगी रहेको स्थानीयले बताएका छन् । सडक आसपासमा हुल बाँधेर हिँड्ने कुकुरले पैदल तथा मोटरसाइकल यात्रीलाई आक्रमण गर्न झम्टिदा धेरैवटा दुर्घटनासमेत भएको पाइएको प्रहरीले जनाएको छ ।

दिनभर घरको पेटी तथा आसपासका खाली जग्गामा बस्ने भुसिया कुकुर रातको समयमा सडकमा निस्किएर यात्रुहरुलाई आक्रमण गर्ने गरेको स्थानीयले बताएका छन् । वथशाला तथा मासु पसलमा भुसिया कुकुर गएको अवस्थामा व्यवसायीले धपाउन खुकरी प्रहार गर्दा कतिपय चोटग्रस्त भएका भेटिन्छन् ।

शरीरका विभिन्न भागमा चोट लागेका भुसिया कुकुर बजार डुल्दा तथा होटल र पसलभित्र पस्दा दुर्गन्धले समस्या हुने गरेको दिक्तेलस्थित सङ्गमपार्कमा सञ्चालित विजय होटलका सञ्चालक जयप्रसाद राईले बताउनुभएको छ । “हाम्रो होटल अगाडि पाँच÷सातवटा भसिया कुकुर जम्मा भएर बस्ने गरेको छ । धपाउँदा खोज्दा पनि जाँदैन”, उहाँले भन्नुभयो, “कतिपय कुकुरहरु चोट लागेर घाइते अवस्थाका छन् । शरीरमा चोट लागेका भुसिया कुकुरका कारण दुर्गन्धले सेवाग्राहीलाई समेत समस्या हुने गरेको छ । यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान ध्यान दिन जरुरी छ ।”

दिक्तेलबजारका भुसिया कुकुरको टोकाइबाट कतिजना पीडित बनेका छन् भन्ने यकिन तथ्याङ्क अहिलेसम्म नगरपालिकासँगै छैन । सडकभरी जथाभावी भेटिने भुसिया कुकुरले टोकेको अवस्थामा रेबिजविरुद्धको खोप लगाउन जाँदा जिल्ला अस्पतालमा खोपसमेत नभेटिएको पीडित भाष्कर थापाले बताउनुभएको छ ।

दिक्तेलबजार जिल्लाको प्रमुख व्यापारिक केन्द्र भएकाले पनि गाउँबाट किनमेल गर्न आउने उपभोक्तासँग पछ्याएर आएका कुकुरहरु यतै बस्दा समस्या आएको नगरपालिकाले जनाएको छ । दिक्तेलबजारमा वर्षौँदेखि देखिएका भुसिया कुकुरको दीर्घकालीन समस्या समाधानका लागि नगरपालिकाको तर्फबाट अध्ययन भइरहेको नगरउपप्रमुख विशन राईले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया