खोटाङ, ९ असोज । भारी वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले मध्यपहाडी लोकमार्गअन्तरगत चखेवाभञ्ज्याङदेखि जयरामघाट सडकखण्डमा राति सवारी आवागमन बन्द गर्न निर्देशन दिएको छ । देशभर परिरहेको अविरल वर्षालाई मध्यनजर गर्दै प्रशासनले जोखिम न्यूनीकरण गर्न साँझ ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सवारीसाधन सञ्चालन नगर्न÷नगराउन निर्देशन दिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्र तथा जल तथा मौसम विज्ञान विभागको बुलेटिनअनुसार असोज–८ देखि ११ गतेसम्म भारी वर्षाको पूर्वानुमान रहेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शम्शेरबहादुर राईद्वारा जारी सूचनामा उल्लेख छ । प्रशासनद्धारा जारी सूचनाको वर्खिलाप हुने गरी व्यवसायीले सवारीसाधन सञ्चालन गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।
देशभर अति भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान रहेको भन्दै जिल्ला प्रशासन कार्यालय खोटाङले असोज–८ देखि ११ गतेसम्म उच्च सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यो अवधिमा वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी, पहिरो, भू–क्षय तथा डुबानको जोखिम हुनसक्नेतर्फ सचेत गराउँदै सतर्कता अपनाउन प्रशासनले सूचनामार्फत आग्रह गरेको हो ।
भारी वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव तथा डुबान हुनसक्ने र सडक यातायातसमेत प्रभावित हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ । नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भू–भाग, भिरालो जमिन तथा डुबान हुनसक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन, जोखिमको सङ्केत देखिएमा तत्काल नजिकको सुरक्षित स्थानमा जान र स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेको छ ।
त्यस्तै, अति आवश्यक अवस्थामा बाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न, यात्रा गर्नुअघि सडक तथा मौसमको अवस्थाबारे जानकारी लिन, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन प्रशासनले आग्रह गरेको छ । पशुचौपाया, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजात तथा अन्य आवश्यक सामग्री सुरक्षित गरी तयारी अवस्थामा राख्नसमेत प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान, पूर्वसूचना र चेतावनी नियमित रूपमा लिन तथा निर्देशनको पालना गर्न पनि अनुरोध गरिएको छ । जिल्लाका सम्बन्धित निकाय, स्थानीय तह, स्वयम्सेवक तथा अन्य सरोकारवालालाई आवश्यक पूर्वतयारीसहित सतर्क अवस्थामा रहन र जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।
देशभर सुरु भएको भारी वर्षालाई मध्यनजर गर्दै खोटाङका दशवटै स्थानीय तहले शैक्षिक संस्थामा बिदा गरेको छ । जिल्लाका दुई स्थानीय तहले असोज–८ गते एक दिन तथा आठ स्थानीय तहले असोज–८ र ९ गते दुई दिन आफ्नो क्षेत्रमा सञ्चालित शैक्षिक संस्थामा बिदा दिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा खोटेहाङ, जन्तेढुङ्गा, बराहपोखरी, ऐसेलुखर्क, रावाबेँसी र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा असोज–८ र ९ गते बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ । भारी वर्षाका कारण शैक्षिक संस्थामा बिदा भएको समयमा आफ्ना छोराछोरीलाई अनावश्यकरुपमा घर बाहिर निस्कन नदिन अभिभावकलाई स्थानीय तहहरुले आग्रह पनि गरेको छ ।
उता, साकेला गाउँपालिका र केपिलासगढी गाउँपालिकाले भने, असोज–८ गते एकदिन मात्र बिदा दिएको छ । ती गाउँपालिकाले जारी गरेको सूचनाअनुसार मौसमको अवस्था हेरेर बिदा थप तथा विद्यालय सञ्चालनको निर्णय गरिने जनाइएको छ ।
बेमौसममा सुरु भएको भारी वर्षाका कारण जिल्लाका किसानहरु चिन्तित बनेका छन् । यो समयमा परेको वर्षाले पाक्न लागेको अन्नबालीमा ठूलो क्षति पुग्ने भएपछि जिल्लाका किसानहरु चिन्तित बनेका हुन् ।


