खोटाङको दिक्तेलबजारमा अनुगमन गर्दा ६१ हजार भन्दा बढीको म्याद नाघेको उपभोग्य वस्तु बरामद गरिएको छ । मंगलवार देखि बिहिवारसम्म लगातार बजार अनुगमन गर्दा ६१ हजार ६६५ रुपैयाँ बराबरको म्याद नाघेको उपभोग्य वस्तु बरामद गरिएको घरेल तथा साना उद्योग कार्यालय खोटाङका प्रमुख भेषराज खत्रीले जानकारी दिनुभएको छ ।
भदौ ३० गते किरातचोक देखि मानव अधिकार चोकसम्म २४ वटा किराना पसलहरु अनुगमन गर्दा २५ हजार ९८३, भदौ ३१ गते मानव अधिकार चोकदेखि बैंक चोकसम्म २४ वटा किराना पसलहरु अनुगमन गर्दा २६ हजार ५३० र असोज १ गते बैंकचोकदेखि हाटडाँडा हुदै अस्पताल चोकसम्म १८ वटा किराना पसलहरु अनुगमन गर्दा नौं हजार १५२ रुपैयाँ बराबरको म्याद नाघेको उपभोग्य वस्तु बरामद गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय खोटाङ, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङ उद्योग वाणिज्य संघ लगायतको संयुक्त टोलीले अनुगमन गर्दा म्याद नाघेर अखाद्य भइसकेका उपभोग्य वस्तु बरामद गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रभात ढकालको नेतृत्वमा अनुगमन गर्दा स्लाईस, करेन्ट खुर्सानी पाउडर, मिक्स जुस, हजमूला, चकलेट, बिस्कुट, बिरेनुन, बेसार धुलो, डिउ जम्बु, सेभेन अप, पोटेटो चिप्स, चिजबल, पानीपुरी, चाइनिज रोल, थुक्पा, मिक्स चकलेट, पापड, आटा,मेङ्गो जुस लागयतका अखाद्य वस्तु बरामद गरी जिल्ला प्रशासन कार्यालयको फोहोर व्यवस्थापन क्षेत्रमा लगेर नष्ट गरिएको प्रशासनले जनाएको छ ।


