खोटाङ, ११ भदौ । रोजगारी, व्यापार तथा अन्य कामको सिलसिलामा रसुवा तथा आसपासका जिल्लामा रहेको अवस्थामा भोटेकोशीमा आएको भीषण बाढीपछि खोटाङका आठ व्यक्ति सम्पर्कविहीन भएका छन् । नेपाली सेनाका लेसनायक पवन खत्री (दाहाल)सहित विभिन्न पेशा÷व्यवसायको सिलसिलामा बाढी प्रभावित क्षेत्रमा रहेका आठ जना खोटाङ्गे सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी सेनाका लेसनायक ३२ वर्षीय पवन खत्री दाहाल, सोही नगरपालिकाको वडा नं. ४ खाल्लेका २७ वर्षीय सुर्जबहादुर परियार, सोही नगरपालिकाको वडा नं.–१५ विजयखर्कका ४३ कविन राई, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका ४१ वर्षीय बालकुमार तामाङ, वडा नं. ३ ऐसेलुखर्कका ५३ वर्षीय युवराज राई र ३३ वर्षीय यसबहादुर राई, सोही गाउँपालिका–७ माक्पाका ६० वर्षीय तारानाथ थापा र उमेर नखुलेका रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका पुष्प भट्टराई सम्पर्कविहीन हुनुभएको जनाइएको छ । विभिन्न पेशा÷व्यवसायको सिलसिलामा रसुवा र नुवाकोटमा रहेको अवस्थामा भोटेकोशीमा भीषण बाढी आएपछि उनीहरु परिवारसँग सम्पर्कविहीन भएको जानकारी आफन्तबाट प्राप्त भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिनुभएको छ ।
भोटेकोशीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन हुनुभएका लेसनायक दाहाल नेपाली सेनाको विष्णु दल गणको मैलुई आर्मी पोष्ट रसुवामा कार्यरत रहनुभएको जनाइएको छ । भोटेकोशीमा भीषण बाढी आएको खबर पाउना साथ सम्पर्क गर्दा दाहालले प्रगोग गर्दै आएको मोबाइल बन्द रहेको पारिवारिक स्रोतले जनाएको छ ।
चीनतर्फबाट भदौ–१० गते आएको बाढीपछि सम्पकीविहीन हुनुभएका खाल्लेका परियार रसुवाको सुरुङ मार्गभित्र काम गर्दै आउनुभएको जनाइएको छ । विजयखर्कका राई ट्रक चालक हुनुहुन्छ । लामो समयदेखि ट्रक चालकको काम गर्दै आउनुभएका राई रसुवामा बाढी आएपछि सम्पर्कविहीन हुनुभएको स्थानीय भूपेन्द्र राईले बताउनुभएको छ ।
जलेश्वरी घर भइ हाल काठमाडौँ बसेर पथ प्रदर्शकको काम गर्दै आउनुभएका तामाङ र तीन जना राई चीन र नेपालको सीमानाबाट सम्पर्कविहीन हुनुभएको तामाङका आफन्त बिक्रम तामाङले जानकारी दिनुभएको छ । यस्तै, माक्पाका थापा नुवाकोटस्थित होटलमा सुरक्षा गार्डको काम गर्दै आउनुभएको जनाइएको छ ।
लामीडाँडाका भट्टराई रसुवास्थित त्रिशूली जलविद्युत कम्पनीमा विद्युत प्राधिकरणका कर्मचारी हुनुहुन्थ्यो । उहाँ कार्यक्षेत्रबाट बुधबारबाटै सम्पर्कविहीन हुनुभएको आफन्तले जानकारी दिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभएको छ ।
भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका आफन्तका परिवारले खोजी कार्यलाई तीव्रता दिन नेपाल सरकार तथा सबै संयन्त्रसँग अपिल गरेका छन् । भोटेकोशीमा आएको बाढीसँगै आफन्त सम्पर्कविहीन भएपछि परिवारका सदस्यहरु चिन्तित बनेका छन् ।
यता, जिल्ला प्रशासन कार्यालय खोटाङले बाढी प्रभावित क्षेत्रमा रहेका व्यक्तिहरुलाई सम्पर्क गरेर उनीहरुको अवस्था यकिन गर्न सूचना प्रकाशन गरेर सम्बन्धित निकाय तथा आफन्तलाई आग्रह गरेको छ । प्रशासनका प्रशासकीय अधिकृत शम्शेरबहादुर राईले जारी गर्नुभएको सूचनामा सम्पर्कविहीन व्यक्तिको बारेमा प्रहरी कार्यालय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय खोटाङमा जानकारी गराउन आग्रह गरेको छ ।
चीनको सिचाङ (तिब्बत) शिगात्से शहरको केरोङ काउन्टीको केरुङ बन्दरगाहबाट बुधबार बिहान ८ः०० बजे नेपालतर्फ हिमपहिरो जाँदा तिब्बत क्षेत्रबाट नेपाल छिर्ने भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएको थियो । पहिरोका कारण थुनिएको पानी बाढीको रुपमा भोटेकोशी, त्रिशूली र नारायणी नदीमा बग्दा जिल्लामा भौतिक क्षति नगरेपनि जिल्लावासी त्यस क्षेत्रमा रहेको हुन सक्ने अनुमान गरिएको छ ।


