ऐसेलुखर्कमा तीनवटा खानेपानी आयोजना सञ्चालन हुँदा ३७० घर उपभोक्ता लाभान्वित

Halesi Khabar

खोटाङ, ८ भदौ । ऐसेलुखर्क गाउँपालिकाका दुईवटा वडामा एकसाथ तीनवटा खानेपानी आयोजना सञ्चालन आएपछि ३७० घर स्थानीय उपभोक्ता लाभान्वित भएका छन् । गाउँपालिकाको कार्यालय, एक्सन फर नेपाल र उपभोक्ता समितिको त्रिपक्षीय लागत साझेदारीमा वडा नं. २ बाकाचोलमा लुबेरा–बादेल खानेपानी आपूर्ति योजना र झाँक्रीवास खानेपानी आपूर्ति आयोजना तथा वडा नं. ७ माक्पामा रोलुखोला नोरुङ खानेपानी आपूर्ति आयोजना सञ्चालनमा ल्याइएको हो ।

एकसाथ तीनवटा खानेपानी आयोजना सञ्चालन गरेर उपभोक्ताको घर र सार्वजनिकस्थलमा गरि ३७२ वटा धारा निर्माण गरेर खानेपानी वितरण गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभएको छ । “तीनवटै खानेपानी आयोजना तोकिएको मितिभन्दा अगावै सम्पन्न गरेर सञ्चालनमा ल्याइएको छ । सबैको घरमा निर्माण गरिएका धारामा प्रयाप्तमात्रामा स्वच्छ खानेपानी उपलब्ध भएको छ”, उहाँले भन्नुभयो, “त्रिपक्षीय लगानीमा सञ्चालित खानेपानी आयोजना प्रभावकारी बनाउन अनुगमन तथा मर्मत समितिसमेत गठन गरिएको छ । कुनै कारण खानेपानी आपूर्ति बन्द भइहालेको खण्डमा तुरुन्तै मर्मत गरेर आयोजना सञ्चलनमा ल्याउन हेरालुसमेत नियुक्त गरिएको छ ।”

कुल रु एक करोड ३६ लाख ८४ हजार ७८५ लागतमा सम्पन्न भएको बाकाचोलको लुबेरा–बादेल खानेपानी आपूर्ति आयोजनाबाट २०४ वटा धारा निर्माण गरिएको जनाइएको छ । गत असार–१६ गते सम्पन्न लुबेरा–बादेल खानेपानी आपूर्ति आयोजनाका लागि उपभोक्ता समितिले रु १३ लाख ६८ हजार ४७८ बेहोरेका छन् ।

यस्तै, रु ४२ लाख ७२ हजार ९५८ लागतमा सम्पन्न माक्पाको रोलुखोला नोरुङ खानेपानी आपूर्ति आयोजनाबाट ४४ घर र सार्वजनिकस्थलमा दुईवटा धारा निर्माण गरिएको छ । सो खानेपानी योजना गत जेठ–६ गते नै सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रवक्ता राजभण्डारीले जानकारी दिनुभएको छ ।

खानेपानी आयोजना सञ्चालनअघि खानेपानीको निक्कै दुःख रहेको झाँक्रीवास आयोजनामार्फत १२२ वटा धारा निर्माण गरिएको जनाइएको छ । करिब सात किलोमिटर टाढाको मुहानबाट गाउँमा पाइपमार्फत झाँक्रीवासमा ल्याइएको खानेपानी आयोजना जेठ–१२ गते औपचारिक उद्घाटन गरिएको हो ।

आगामी वर्ष गाउँपालिकाको सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध गराउनेगरी बजेटको व्यवस्था गरिएको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिनुभएको छ । “नेपाल सरकारको नीतिअनुसार गाउँपालिकामा एक घर, एक धारा कार्यक्रम सञ्चालन गरिरहेका छौँ । हामी निर्वाचित भएर आएपछि करिब ५० प्रतिशत उपभोक्तालाई यो सेवा उपलब्ध गराइसकेका छौँ”, उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकामा तीन हजार ३५५ घर उपभोक्ता छन् । अब यस वर्ष बाँकी रहेका सबै घरधुरीमा स्वच्छ खानेपाली उपलब्ध गराउन योजना बनाएर बजेट विनियोजन गरेका छौँ ।”

लामो समयदेखि कुवा तथा खोलाको पानी उपभोग गर्दै आएका दुई वडाका स्थानीयवासी त्रिपक्षीय लगानीमा सञ्चालित खानेपानी आयोजनाबाट घरघरमा निर्माण गरिएको धारामार्फत स्वच्छ खानेपानी उपभोग गर्न पाएपछि हर्षित बनेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो गाउँपालिकाको बाकाचोलमा यसअघि कादुरीले सञ्चालन गरेको खानेपानी योजना जीर्ण बनेपछि नयाँ खानेपानी आयोजना सञ्चालन गरिएको हो ।

गाउँपालिकाको दुई वडामा एकैसाथ तीनवटा खानेपानी आयोजना सञ्चालन गर्नका लागि वि.सं. २०८२ मङ्सिर–२७ गते त्रिपक्षीय सम्झौता गरिएको थियो । सम्झौतापत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिका प्रमुख राई र प्रमुख प्रशाकीय अधिकृत रेखबहादुर थापा, एक्सन फर नेपालका तर्फबाट कार्यकारी प्रमुख लाक्पाछिरिङ शेर्पा र लेखा संयोजक अजिला लिम्बू तथा उपभोक्ता समितिको तर्फबाट सम्बन्धित वडाका वडाध्यक्षहरुले हस्ताक्षर गरेका थिए ।

तपाईको प्रतिक्रिया