वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड

Halesi Khabar

खोटाङ, ३ चैत । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव आज (बिहीबार)बाट सुरु भएको छ । विद्यार्थी तथा युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै आगामी दिनमा वैज्ञानिक उत्पादन गर्ने उद्देश्यका साथ जिल्लामा पहिलोपटक वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी महोत्सवको आयोजना गरिएको हो ।

कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, शुभम् फाउन्डेसन र हिमालयन माध्यमिक विद्यालय सोल्माले संयुक्तरुपमा आयोजना गरेको महोत्सवमा ८२ वटा स्टल राखिएको छ । यही वैशाख–७ गतेसम्म सञ्चालन हुने महोत्सवमा खोटाङका २१ वटा माध्यमिक विद्यालयको ६४ वटा तथा राजधानीसहित बाहिरी जिल्लाका १५ वटा विद्यालयको १८ वटा स्टल रहेको आयोजक समितिका स्टल संयोजक भूपाल राईले जानकारी दिनुभएको छ ।

स्थानीय स्रोतसाधन प्रयोग गरेर आयोजना गरिएको बृहत् वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी महोत्सवमा परियोजना प्रतिस्पर्धासमेत गराइने आयोजकले जनाएको छ । नगरपालिकाभित्र सञ्चालित सबै माध्यमिक तहका विद्यालय तथा देशभरका विद्यार्थीको सहभागिता रहेको महोत्सवको परियोजना प्रतिस्पर्धामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालय तथा विद्यार्थीलाई क्रमशः नगद रु २० हजार, रु दश हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रर्दशनीमा विद्यार्थीले तयार पारेका विज्ञानसम्बन्धी परियोजना, एआइ प्रविधिमा आधारित नमूना प्रस्तुति तथा अन्तरक्रियात्मक स्टलहरू राखिएको महोत्सव आयोजक समितिका संयोजक एवम् शुभम् फाउन्डेसनका कार्यकारी निर्देशक सूर्यबहादुर राईले जानकारी दिनुभएको छ । “पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीले विद्यार्थीमा सिर्जनशील सोचको विकास हुने र ग्रामीण क्षेत्रमा विज्ञान तथा प्रविधिसम्बन्धी ज्ञान र सीपको विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेका छौँ । महोत्सवमा पिपुल्स च्वाइस् अवार्डको व्यवस्थासमेत गरिएको छ”, उहाँले भन्नुभयो, “प्रदर्शनीको पहिलो दिनमै एक हजारभन्दा बढी अवलोकनकर्ताले भोट गरेका छन् । अवलोकनकर्ताको भोटको आधारमा उत्कृष्ट स्टललाई पुरस्कृत गरिन्छ । त्यसले विद्यार्थीहरु उत्साहित भएका छन् ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् फाउण्डेसनमा आयोजना गरिएको महोत्सवमा रोबो–कार रेसमा प्रथम हुनेलाई नगद रु १५ हजार, द्धितीय हुनेलाई रु दश हजार र तृतीय हुनेलाई रु पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ । महोत्सवमा मोस्ट प्राक्टिकल इनोभेसन अवार्ड अन्तरगत नगद रु पाँच÷पाँच हजार प्रदान गरिने संयोजक राईले जानकारी दिनुभएको छ ।

पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा विद्यार्थीहरुबीच एआइसम्बन्धी निबन्ध लेखन प्रतियोगितासमेत आयोजना गरिएको आयोजकले जनाएको छ । निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः नगद रु १५ हजार, रु दश हजार र रु पाँच हजार प्रदान गरिने हिमालय माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सप्तमणि राईले जानकारी दिनुभएको छ ।

जिल्लामा पहिलो पटक आयोजना गरिएको वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी महोत्सवमा नाष्टका वैज्ञानिकहरुसँग विद्यार्थीको प्रत्यक्ष कुराकानी तथा प्रशिक्षण, धिरज राई लगायतका राष्ट्रियस्तरका चर्चित कलाकारहरुको साँगीतिक प्रस्तुति राखिएको आयोजकले जानकारी दिएको छ । महोत्सवमा आएका नाष्टका वैज्ञानिकहरुसँगको प्रत्यक्ष कुराकानी तथा प्रशिक्षणले विज्ञान, प्रविधि र नवप्रवद्र्धनका क्षेत्रमा रुचि राख्ने विद्यार्थीका लागि थप प्रोत्साहन मिल्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ ।

महोत्सवमा काठमाडौँका आठ तथा भक्तपुर, काभ्रेको धुलिखेल र विराटनगरको एक÷एकवटा विद्यालयले सहभागिता जनाएको आयोजकले दिएको छ । खोटाङ प्रदेशसभा १ (क)का प्रदेशसभा सदस्य एवम् कोशी प्रदेश सरकारका निवर्तमान सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)का उपकुलपति डा. दिलीप सुब्बाले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया