नयाँ वर्ष २०८३ को पहिलो दिन : पर्यटकीयस्थलहरुमा आन्तरिक पर्यटकको भीड

Halesi Khabar

खोटाङ, १ वैशाख । नयाँ वर्ष २०८३ को अवसरमा खोटाङका पर्यटकीयस्थलहरुमा आन्तरिक पर्यटकको भीड लागेको छ । पूर्वी पहाडी जिल्ला खोटाङमा केही वर्षयता नयाँ वर्षको अवसर पारेर पर्यटकीयस्थलहरु घुम्न जाने, सामूहिकरुपमा वनभोज (पिकनिक) खाँदै रमाइलो गर्ने र आपसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन सुरु भएको हो ।

वर्षको सुरुका दिन रमाइलो गर्दा वर्षभरी हर्ष र खुसी मिल्ने जनविश्वासका साथ जिल्लाका स्थानीय बासिन्दाले नयाँ वर्षलाई विशेष महत्व दिने गरिएको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका सञ्जिव राईले बताउनुभएको छ । “वर्षभरि विभिन्न कामले थकित भएको भइन्छ । नयाँ वर्ष लागेसँगै केही नयाँ गरौँ भन्ने सबैमा हुन्छ”, उहाँले भन्नुभो, “वर्षको सुरुका दिन रमाइलो गर्दा वर्षभरी हर्ष र खुसी मिल्ने जनविश्वास छ । त्यसैले नयाँ वर्षलाई विशेष महत्व दिने गरिएको हो ।”

नयाँ वर्षको पहिलो दिन दिक्तेल रुपाकोछ मझुवागढी नगरपालिकाको रुपाकोट, मझुवागढी, भुलभुले, बगरेभञ्ज्याङ, काङसाहोप ताल, बाँझोबारी, हलेसी नगरपालिकाको तुवाचुङ–जायजुम, भुम्जुडाँडा, जन्तेढुङ्गा गाउँपालिकाको जन्तेढुङ्गा, होङ्मा पोखरी, बराहपोखरी गाउँपालिकाको बराहपोखरी, केपिलासगढी गाउँपालिकाको केपिलासगढी, मैयुङ, चिलिमढुङ्गा, खोटेहाङ गाउँपालिकाको, रोक्सिमभञ्ज्याङ, कपासेभञ्ज्याङ, साकेला गाउँपालिकाको तावाभञ्ज्याङ, ट्याम्के, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको मैस्याङटार, रावाकेँसी गाउँपालिकाको डुम्रेकोटगढी र प्रिमाकोटगढी, ऐसेलुखर्क गाउँपालिकाको बहानेपोखरी र झुलेडाँडा लगायत जिल्लाका विभिन्न पर्यटकीयस्थलहरुमा नयाँ वर्ष मनाउने स्थानीय बासिन्दाको बाक्लो भीड लागेको छ । ग्रामीण क्षेत्रमा बसोवास गर्ने स्थानीय बासिन्दाहरु घण्टौँ पैदल यात्रापछि पर्यटकीयस्थल पुगेर सामूहिकरुपमा पिकनिक खाँदै, नाचगान र रमाइलो गरेर नयाँ वर्ष मनाइरहेका छन् ।

नयाँ वर्ष मनाउन राँगा, खसी, सुँगुर, कुखुराको भाले, पेय पदार्थसहित पर्यटकीयस्थल पुगेका स्थानीय बासिन्दाहरुले सुख, शान्ति, समृद्धिको कामना गर्दै आपसमा शुभकामना आदानप्रदान गर्छन् । पछिल्लो समय जिल्लाका पर्यटकीयस्थलहरुमा स्थानीय बासिन्दा बाहेक कर्मचारी, सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, युवायुवती, वृद्धवृद्धा, युगल जोडीसमेतको बाक्लो उपस्थिति देखिने गरेको छ ।

सडक सञ्जालमा जोडिएका कतिपय स्थानीय तहका बासिन्दाहरु रिजर्भ गरिएका गाडी तथा मोटरसाइकल लिएर पर्यटकीयस्थलहरुमा पुग्ने गरेका छन् । प्राकृतिकरुपमै सुन्दर रहेको जिल्लाका पर्यटकीयस्थलहरुलाई देशमा सङ्घीयता लागू भएपछि तीनवटै तहका सरकारको लगानीमा भौतिक सुविधासहित स्तरोन्नतिको काम गरिएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरु झनै आकर्षित हुन थालेका छन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई कर्मथलो तथा अध्ययन÷अध्यापनका लागि बसोबास गर्दै आएकाहरु नयाँ वर्ष मनाउन पर्यटकीयस्थलहरुमा गएपछि होटल तथा पसलहरु कम खुलेका छन् । दैनिक हजारौँको सङ्ख्यामा मानिसको आवतजावत हुने दिक्तेल बजार सुनसान बनेको छ ।

पछिल्लो समय पर्यटकीयस्थल बाहेक अग्ला–अग्ला थुम र डाँडाहरुमा समेत नयाँ वर्ष मनाउने स्थानीय बासिन्दाको भीड लाग्न थालेको छ । दिक्तेल बजारको सबैभन्दा नजिक रहेको पर्यटकीयस्थलहरु रुपाकोट र मझुवागढीमा नयाँ वर्षको अघिल्लो दिनदेखि नै सर्वसाधारणको बाक्लो भीड लागेको छ ।

चारैतिर घना जङ्गलले घेरिएको पर्यटकीयस्थल रुपाकोटमा दिक्तेल, खार्मी, नुनथला, जालपा, पाथेका, नेर्पा, लफ्याङ लगायका बुढापाका, युवायुवती र केटाकेटीको बाक्लो भीड लाग्ने गरेको छ । परिवारका सदस्य, साथीभाइ र आफन्तसहित पर्यटकीयस्थल रुपाकोट पुगेका सर्वसाधारण यतिबेला साउण्ड सिस्टममा बजाइएका गीतको सुरमा नाचेर रमाइलो गरिरहेका छन् ।

नयाँ वर्षको अवसरमा बन्दोबस्तीका सामानसहित रुपाकोटमा आइपुगेका स्थानीय रुपाकोटडाँडामै दुई÷तीन दिनसम्म बसेर रमाइलो गर्ने गरेको खार्मीका स्थानीय दिलकुमार राईले जानकारी दिनुभएको छ । “वर्षको अन्तिम दिन अर्थात चैत मसान्तमा रुपाकोट आउने र रातभरि जाग्राम बसेर रातको १२ बजे पुरानो वर्षलाई विदा गरिन्छ । यो चलन लामो समयअघिदेखि चलिआएको हो”, उहाँले भन्नुभयो, “नया“ वर्षको पहिलो दिन दिनभर रुपाकोट क्षेत्र घुमफिर गर्दै रमाइलो गरिन्छ । राति जुहारी गाउँदै बसेर बिहान सूर्योदयको स्वागतपछि विभिन्न परिकार खाइन्छ । सूर्योदयको बेला वर्षभरि शुभ रहोस भन्ने कामना गर्दै नयाँ कामको थालनी गर्ने अठोट लिएर घर फर्किने चलन छ ।”

पर्यटकीयस्थल रुपाकोटबाट सर्वोच्च शिखर सगरमाथा, उच्च हिमश्रृङ्खला, तराईका फाँट, घाँसेमैदान तथा सूर्यदय तथासूर्यअस्तको दृष्यसमेत अवलोकन गर्न सकिन्छ । समुन्द्री सतहदेखि करिब दुई हजार ६०० मिटर उचाईमा रहेको रुपाकोटमा नयाँ वर्ष बाहेक अन्य समयमा समेत आन्तरिक तथा बाह्य पर्यटक जाने गरेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको रुपाकोटमा ३० फिट अग्लो भ्यू टावरसमेत निर्माण गरिएको छ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्धुम ट्रेल’ पदमार्गमा निर्माण गरिएको सो टावरका लागि नगरपालिकाले रु २७ लाख बजेट उपलब्ध गराएको थियो ।

पर्यटकीयस्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने थालेपछि जिल्लाका सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा पर्ने पर्यटकीयस्थलहरुको प्रवद्र्धन गर्न स्तरोन्नतिको काम गरेका छन् । पर्यटनलाई आम्दानीको स्रोतका रुपमा विकास गर्ने उद्देश्यसहित जिल्लाका सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा रहेका पर्यटकीयस्थलको प्रवद्र्धन गर्न स्तरोन्नतिका साथै प्रचारप्रसारसमेत सुरु गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया