निर्माण व्यवसायीलाई राहत दिन सरकारसमक्ष निर्माण व्यवसायी सङ्घको माग

Halesi Khabar

खोटाङ, २७ चैत । नेपाल निर्माण व्यवसायी सङ्घ खोटाङले जिल्लाका सबै निर्माण व्यवसायीलाई राहत उपलब्ध गराउन नेपाल सरकारसमक्ष माग गरेको छ । मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन सामाग्रीहरूमा पटक–पटक भइरहेको अत्यधिक मूल्यवृद्धिले निर्माण उद्योगहरु ठप्प हुने स्थितिमा पुगेको भन्दै राहत दिन सरकारसमक्ष माग गरेको हो ।

निर्माण व्यवसायी सङ्घले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारसहित सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराएको छ । “इन्धनजन्य सामाग्रीहरूसहित निर्माण कार्यमा व्यापक प्रयोग हुने बिटुमिन, सिमेण्ट, डण्डी, तारजाली लगायतका निर्माण सामाग्रीमा समेत निरन्तर भइरहेको मूल्यवृद्धि र बजारमा उक्त सामाग्रीहरूको अभावले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको छ”, विज्ञप्तिमा भनिएको छ, “देशका विभिन्न ठाउँमा क्रसर उद्योगमा देखिएको समस्याले निर्माण उद्योग थप आक्रान्त भएको छ । निर्माण उद्योगको यस्तो अत्यन्त विषम परिस्थितिका विषयमा केन्द्रीय महासङ्घले बारम्बार नेपाल सरकार लगायतका निकायहरूमा पत्राचार गरेपनि समस्या समाधान हुने गरी अहिलेसम्म केही कार्यान्वयन नभएको व्यहोरा अवगत गराउँदछौँ ।”

ठेक्काको मूल्य समायोजन राष्ट्र बैङ्कको मूल्य सूचकाङ्कअनुसार हुने भएकाले बजारमा निर्माण सामाग्रीको अत्याधिक मूल्यवृद्धि भएपनि राष्ट्र बैङ्कको इन्डेक्समा उक्त सामाग्रीको मूल्य घटेको देखाउने प्रचलनका कारण निर्माण उद्योगमा थप सङ्कट देखिएको विज्ञप्तिमा जनाइएको छ । निर्माण कार्य तीव्र हुने समयमै इन्धन सामग्रीमा भइरहेका मूल्यवृद्धि एवम् अभावले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको जिल्ला अध्यक्ष रमेश पौडेल ‘दिनेश’ले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।

निर्माण व्यवसायी सङ्घले हालको कानूनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने भन्दै मूल्य समायोजनको मार्ग निर्देशिका–२ तत्काल जारी गर्न र सबै अवधिका ठेक्काको मूल्य समायोजन गर्न माग गरेको छ । मूल्यवृद्धिको समस्याबाट पीडित सबै तहका निर्माण व्यवसायीको समस्या तुरुन्त सम्बोधन गर्न निर्माण व्यवसायी सङ्घले सरकारसमक्ष विज्ञप्तिमार्फत अपील गरेको छ ।

तपाईको प्रतिक्रिया