हलेसी तुवाचुङ बन्यो देशभरमा सर्वोत्कृष्ट : ‘म्युनिसिपल एक्सीलेन्ट अवार्ड’बाट सम्मानित

Halesi Khabar

खोटाङ, २७ चैत । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सीलेन्ट अवार्ड’बाट सम्मानित भएको छ । संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका सूचकाङ्कमा हलेसी तुवाचुङले ९० अङ्क हासिल गर्दै देशभरका २७६ नगरपालिकामध्ये सर्वोत्कृष्ट भएपछि नेपाल नगरपालिका सङ्घले ‘म्युनिसिपल एक्सीलेन्ट अवार्ड’सहित सम्मान गरेको हो ।

नेपाल नगरपालिका सङ्घको ३३ औँ स्थापना दिवसको अवसर पारेर राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा नगरप्रमुख विमला राईले सभामुख डोलप्रसाद अर्यालको हातबाट अवार्ड ग्रहण गर्नुभएको छ । संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका सूचकाङ्कमा आधारमा देशभरका नगरपालिकामध्ये हलेसी तुवाचुङले उच्च अङ्क ल्याउँदै सुशासन कायम गरेकाले सम्मान गरिएको आयोजकले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लाको दोस्रो ठूलो स्थानीय तहमा पर्ने यो नगरपालिकाले पछिल्लो समय आर्थिक अनुशासन, पारदर्शिता र उत्तरदायित्वका क्षेत्रमा उल्लेखनीय सुधारको नमूना प्रदर्शन गर्दै आएको छ । स्थानीय तहको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने तथा संस्थागत क्षमता अभिवृद्धिमा केन्द्रित कार्यक्रमहरूले नगरपालिकालाई उत्कृष्टताको शिखरसम्म पु¥याएको सरोकारवाला निकायले बताउँदै आएका छन् ।

बालिका बचत, व्यवसाय गर्न चाहनेलाई बिना ब्याज अनुदान, रैथाने बाली उत्पादन गर्ने किसानलाई अनुदान लगयतका जनमुखी कार्यक्रम गर्दै आएको हलेसी तुवाचुङ हलेसी तुवाचुङ नगरपालिका स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा समेत लगातार दोस्रोपटक जिल्ला प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजाअनुसार जिल्लाका नौँ स्थानीय तहलाई पछाडि पार्दै हलेसी तुवाचुङ नगरपालिका यो वर्ष पनि जिल्ला प्रथम भएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷०८२ को अन्तिम कार्यसम्पादन मूल्याङ्कन नतिजा अनुसार हलेसी तुवाचुङ नगरपालिकाले सबैभन्दा बढी ७२ दशमलव ५५ नम्बर पाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७१ दशमलव ९४ अङ्कसहित दोस्रो भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।

जिल्लाको दोस्रो ठूलो स्थानीय तह हलेसी तुवाचुङ नगरपालिकालाई महिला नेतृत्व नगरप्रमुख विमला राईले हाँकिरहनुुभएको छ । वि.सं. २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गठबन्धनका उम्मेदवार एमालेका खडेन्द्र राईलाई पराजित गर्दै नेपाली काँग्रेसको तर्फबाट राई नगरप्रमुखमा निर्वाचित हुनुभएको हो ।

एघार वडा रहेको यस हलेसी तुवाचुङ नगरपालिकाको कार्यालयले गरेको सेवा प्रवाहको काम जनपक्षीय रहेको सबै क्षेत्रबाट प्रतिक्रिया आउने गरेको छ । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी मन्दिर रहेकाले पनि यो नगरपालिकाको सेवा प्रवाहमा देशभरका व्यक्तिको नजर पुग्ने गरेको हो ।

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा पर्ने यो नगरपालिकाले यसअघि कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ प्राप्त गरेको थियो । नेपालका प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान)ले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट नगरपालिका पुरस्कार यस वर्ष हलेसी तुवाचुङले प्राप्त गरेको हो ।

शिक्षा क्षेत्रमा गरेको नेतृत्व, प्रतिबद्धता र नवीन पहललाई प्रोत्साहन गर्दै हलेसी तुवाचुङलाई कोशी प्रदेशको पान उत्कृष्ट पुरस्कार–२०८२ प्रदान गरिएको आयोजकले जनाएको छ । प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाको नेतृत्वमा गठित छनोट समितिले २५ ओटा शैक्षिक मापदण्डका आधारमा मूल्याङ्कन गरेर हलेसी तुवाचुङलाई कोशी प्रदेशकै उत्कृष्ट ठहर गर्दै पुरस्करका लागि सिफारिस गरेको हो ।

शैक्षिक क्षेत्रको सुधार अभियानमा लागेको हलेसी तुवाचुङ नगरपालिकामा ९० वटा विद्यालय सञ्चालनमा रहेका छन् । सामुदायिक विद्यालयहरुमा पछिल्लो तीन वर्षमा भौतिक पूर्वाधार विकास, शिक्षक दरबन्दी व्यवस्थापन, प्रसुति सट्टा शिक्षक, प्राविधिक तथा प्रविधियुक्त शैक्षिक कार्यक्रम विस्तार लगायतका काम भएका छन् ।

हलेसी तुवाचुङ नगरपालिकालाई यस वर्ष दशौँ जिल्लासभाको अवसर पारेर जिल्ला समन्वय समिति खोटाङले समेत सम्मान गरेको छ । महिला सशक्तीकरण तथा बालिका संरक्षण कार्यक्रम सञ्चालन गरेकोमा प्रोत्साहनस्वरुप हलेसी तुवाचुङ नगरपालिकालाई सम्मान गरिएको समन्वय प्रमुख सनबहादुर राईले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया