खोटाङ, २० चैत । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आरेन राईले आफ्ना जिल्लाको शान्तिसुरक्षासँग सम्बन्धित सबै समस्याहरु तत्काल समाधान गरिदिन माग गर्दै गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाउनुभएको छ । श्रम संस्कृति पार्टीका महासचिवसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य राईले आज (शुक्रबार) सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर जिल्लाको शान्तिसुरक्षा सम्बन्धी समस्याहरु तत्काल समाधान गरिदिन माग गर्दै गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।
गृहमन्त्री गुरुङको कार्यकक्षमै पुगेर बुझाइएको ज्ञापनपत्रमा केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा सञ्चालित इलाका प्रहरी कार्यालय, छितापोखरी र भडारेघाटमा सञ्चालित अस्थायी प्रहरी चौकी भवन निर्माण गरिदिन माग गरिएको छ । जिल्लाका सबै अस्थायी प्रहरी चौकीहरु स्थायी गराउन तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–७ सुङ्देलमा स्थायी प्रहरी चौकी स्थापनाका लागि तत्काल पहल गरिदिन ज्ञापनपत्रमा माग गरिएको छ ।
यस्तै, जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारमा सञ्चालित सशस्त्र प्रहरी बलको बेस क्याम्प हटाउने नेपाल सरकारको निर्णयसमेत रोक्न ज्ञापनपत्रमा अनुरोध गरिएको छ । चिसापानीमा सञ्चालित सशस्त्र प्रहरी बलको बेस क्याम्प हटाउने विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गुल्म, हलेसी खोटाङका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपानेले जानकारी दिनुभएको छ ।
नागरिकहरुलाई सबैभन्दा पहिले शान्तिसुरक्षा प्रत्याभूती दिलाउन गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएको सदस्य राईले बताउनुभएको छ । “नागरिकहरुले आफू सुरक्षित छु भन्ने महसुस गरेपछि मात्रै अन्य विषय अपेक्षा गरेका हुन्छन् । त्यसैले सबैभन्दा पहिले सुरक्षासँग सम्बन्धित समस्याहरु समाधान गरिदिन गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएको छु । मन्त्रीज्यूले पनि सकारात्मक प्रतिक्रिया दिनुभएको छ”, उहाँले भन्नुभयो, “अब अरु विषयगत मन्त्रालय पुगेर जिल्लाका सबै समस्याहरु राख्नेछु । पार्टीको नीतिअनुसार ज्ञापनपत्र बुझाउन सुरु गरेको छु । बाँकी मन्त्रालयमा चाँडै ज्ञापनपत्र बुझाउनेछु ।”
प्रधानमन्त्री बालेन्द्र शाहले यही चैत–१६ गते सांसदहरुसँग राख्नुभएको छलफलमा श्रम संस्कृति पार्टीका कोही पनि सांसदहरु सहभागी भएका थिएनन् । हर्कराज राई ‘हर्क साम्पाङ’ले नेतृत्व गर्नुभएको श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकगरी सात जना सदस्य निर्वाचित भएका छन् ।
पार्टीको नीतिअनुसार प्रधानमन्त्रीले बोलाउनुभएको सांसदहरूको भेलामा आफूहरु नगएको महासचिव राईले जानकारी दिनुभएको छ । “पार्टीको नीतिअनुसार छुट्टा–छुट्टै मन्त्रालय पुगेर ज्ञापनपत्रमार्फत जिल्लाको समस्या राख्छौँ । अरु सांसदहरुले पनि मन्त्रालय पुगेरै आ–आफ्नो जिल्लाका समस्याहरू राख्नेछन्”, उहाँले भन्नुभयो, “यो प्रक्रिया प्रभावकारी हुन्छ भन्ने हाम्रो पार्टीको ठहर छ । बिरोध गर्नेहरु गरिरहन्छन् । हामी जनताका समस्या समाधानका लागि गम्भीर भएर निरन्तर लागिरहन्छौँ ।”
इलाका प्रहरी कार्यालय बाक्सिला बजार तथा अस्थायी प्रहरी चौकीहरु छितापोखरी र भँडारेघाट जीर्ण भवनमा सञ्चालन हुँदै आएको छ । दश स्थानीय तह रहेको जिल्लामा एउटा जिल्ला प्रहरी कार्यालय, चारवटा इलाका प्रहरी कार्यालय (क), दुईवटा इलाका प्रहरी कार्यालय (ख), १९ वटा स्थायी प्रहरी चौकी र दशवटा अस्थायी प्रहरी चौकी सञ्चालनमा रहेका छन् ।


