खोटाङ, १६ चैत । नेपाली सेनाले खोटाङमा आयोजना गरेको एक दिने स्वास्थ्य शिविरमा २०८ जना स्थानीयले निःशुल्क सेवा लिएका छन् । रणभीम गण मुडे खोटाङ र १८ नं. फिए गुल्मको संयुक्त आयोजनामा साकेला गाउँपालिकाको रतन्छामा आज (सोमबार) आयोजना गरिएको एक दिने स्वास्थ्य शिविरमा १४९ जना महिला, ५९ जना पुरुष र दश जना बालबालिकाले निःशुल्क सेवा लिएका हुन् ।
नागरिक–सैन्य सम्बन्ध सदृढ गर्ने उद्देश्यले साकेला गाउँपालिकामा एक दिने स्वास्थ्य शिविर आयोजना गरिएको रणभीम गण मुडे ब्यारेक खोटाङका गणपति प्रमुख सेनानी केदारप्रसाद लामीछानेले जानकारी दिनुभएको छ । “दुर्गम क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच अभाव छ । यो अभावलाई ध्यानमा राख्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “शिविरको माध्यमबाट नागरिक–सैन्य सम्बन्ध अझ मजबुत भएको महसुस गरेका छौँ । शिविरमा सहभागी स्थानीय पनि सन्तुष्ट भएर फर्किएका छन् ।”
जिल्ला अस्पताल खोटाङ र साकेला आधारभूत अस्पतालको समन्वयमा आयोजित शिविरमा स्वास्थ्य परीक्षण, औषधि वितरण, महिला तथा बाल स्वास्थ्य सम्बन्धी परामर्श र सचेतनामूलक सेवा निःशुल्क प्रदान गरिएको सेनाले जनाएको छ । सेनाको यो पहलले स्थानीयस्तरमा बसोवास गर्दै आएका नागरिकका लागि स्वास्थ्य सेवा प्रवाहमा थप सहयोग पुगेको गाउँपालिका प्रमुख रविप्रकाश राईले जानकारी दिनुभएको छ ।
निःशुल्क स्वास्थ्य शिविरमा गाउँपालिका प्रमुख राई, प्रमुख सेनानी लामीछाने, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । नेपाली सेनाको ‘नागरिक–सैन्य सम्बन्ध सदृढ कार्यक्रम’ अन्तरगत रणभीम गण मुडे खोटाङले जिल्लाका विभिन्न ठाउँमा गएर सामाजिक काम गर्दै आएको छ ।
रणभीम गणले यसअघि हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माध्यमिक विद्यालयमा फर्निचर निर्माण गरिदिएको थियो । यसका साथै नेपाली सेनाले जिल्लामा हुनसक्ने विपद् व्यवस्थापनका लागि प्रतिकार्य पूर्वअभ्यास, सडक मर्मत, सरसफाइ लगायतका सामाजिक काम गर्दै आएको छ ।


