खोटाङ, १७ फागुन ।प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्थशास्त्री एवम् बाम राजनीतिक विश्लेषक डा. हरि रोकाले खोटाङमा उम्मेदवारी दर्ता गराउनुभएसँगै जिल्लाको चुनावी प्रतिस्पर्धाको चर्चा देशभर चुलिएको छ । डा. रोकालाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले यही फागुन–२१ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएपछि खोटाङको चुनावी प्रतिस्पर्धाको चर्चा देशभर चुलिएको हो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका निवासी डा. रोकालाई विजयी गराउन देशभरका वौद्धिक वर्गले भिडियो क्लिप्स (श्रव्यदृश्य सामग्री) तथा स्टाटस (लिखित सन्देश)मार्फत खोटाङवासी मतदातालाई आव्हान गरिरहेका छन् । पूर्वनिर्वाचन आयुक्त भोजराज पोखरेलदेखि अर्थशास्त्री डा. पिताम्बर शर्मा, कानूनविद् युवराज सङ्ग्रौला, किरात प्रज्ञा प्रतिष्ठानका कूलपति जयकुमार राई, लेखक/साहित्यकारहरु खगेन्द्र सङ्ग्रौला, युग पाठक र झलक सुवेदी, शल्य चिकित्सक डा. कृष्णकुमार राई ‘केके’, लेखक/साहित्यकारहरु डा. विष्णु राई र डा. नारायण ढकाल, अधिवक्ता प्रतीक कार्की लगायतका वौद्धिक वर्गले डा. रोकाप्रति सुभेच्छा प्रकट गर्दै जिताएर पठाउन जिल्लावासीलाई आव्हान गर्नुभएको हो ।
खोटाङका छ जना पूर्वसांसद तथा पूर्वमन्त्रीहरुको साथ पाउनुभएका उम्मेदवार डा. रोका ११ बुदे प्रतिवद्धतापत्रसहित मतदाताको घरदैलोमा पुगेर मतदाता रिझाउन व्यस्त हुनुहुन्छ । ‘शहरको विकास गर्न शहरी विकास मन्त्रालय सञ्चालनमा छ । त्यो मन्त्रालयको नजर ग्रामीण भेगमा बसोवास गर्ने नागरिकमा पुगेको छैन’, डा. रोकाले भन्नुभएको छ, ‘म विजयी भएर संसद छिरेको खण्डमा पहिलो प्रथमिकता ग्रामीण मन्त्रालय स्थापना गर्नमा हुनेछ । यसले ग्रामीण भेगका जनताको चौतर्फी विकासमा सहयोग पुग्नेछ ।’
डा. रोकाले गाउँको विकास गर्न ग्रामीण विकास मन्त्रालय स्थापना गर्नेदेखि स्वास्थ्य, शिक्षा, श्रम, वैदेशिक रोजगार लगायतमा सुधार गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आफै किसान भएकोले किसानका समस्या समाधान गर्ने नीति बनाउन प्रभावकारी भूमिका खेल्ने, खोटाङलाई समृद्ध बनाउन सरकारका साथै अन्तर्राष्ट्रिय दातृ निकायलाई पर्यटन क्षेत्रमा लगानी गराउन पहल गर्ने, खोटाङ्गे जनता तथा ’जेनजी’को भावनाअनुसार भ्रष्टाचारविरूद्ध संसदमा प्रभावकारी आवाज उठाउने, खोटाङको विकासको खाका तयार गरी स्थानीय, प्रदेश र केन्द्र सरकारका बीचमा कार्यान्वयनका लागि प्रभावकारी भूमिका खेल्ने, नेपालका भाषा, संस्कृति र सभ्यताहरूले विकास गरेका ज्ञानहरूलाई संरक्षण र पहिचान दिएर समृद्धि प्राप्त गर्न, शिक्षण पेशा र शिक्षकको पेशागत हकहितसँग सम्बन्धित शिक्षा विधेयक पारित गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
विभिन्न ११ भाषामा प्रकाशन गरिएका चुनावी प्रतिवद्धतापत्र लिएर मतदाताको घरदैलामा पुगिरहनुभएका डा. रोकाले जनअपेक्षा बुझ्न जनसम्वाद कार्यक्रम सञ्चालन गर्नुभएको छ । उम्मेद्वार डा. रोकाको जनसम्वाद कार्यक्रममा प्रत्यक्ष, फोन तथा एसएमएसमा मतदाताले राखेका प्रश्नको उत्तर रेडियो, युट्युब र फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको प्रचारप्रसार समितिका संयोजक एवम् पूर्वमन्त्री राजन राईले जानकारी दिनुभएको छ ।
डा. रोकालाई निर्वाचित गराउन काठमाडौँ, विराटनगर, धरान, इटहरी र झापामा समेत स्वतन्त्र समिति गठन भएको छ । खोटाङ घर भइ काम विशेषले विभिन्न ठाउँमा बस्दै आएका व्यक्तिहरुले गठन गरेको स्वतन्त्र समितिले डा.रोका विजयी हुँदा खोटाङको मात्र नभइ देशकै हित हुने बताएका छन् ।
एक लाख ४७ हजार १२० मतदाता रहेको खोटाङमा डा. रोकासहित १५ जना उम्मेदवार रहेका छन् । नेपाली काँग्रेसबाट वीरकाजी राई र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवबिक्रम राई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ तथा डा. राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।
प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १३६ वटा मतदान स्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ वटा अतिसंवेदनशील, ६४ वटा संवेदनशील र ५१ वटालाई सामान्यमा राखेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभएको छ ।


