खोटाङ, ८ फागुन । नेपाल समाजवादी पार्टी (नेसपा)का केन्द्रीय सदस्य सावित्री राईसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका नेताहरु श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । श्रम संस्कृति पार्टी खोटाङले बिहीबार बाक्सिला बजारमा आयोजना गरेको चुनावीसभामा नेसपाका केन्द्रीय सदस्य राईसँगै एमाले खोटाङका जिल्ला सचिवालय सदस्य आशिष राई, जिल्ला सदस्य प्रेम राई लगायतका नेताहरु प्रवेश गरेका हुन् ।
चुनावीसभा तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका केन्द्र, जिल्ला तथा पालिकास्तरीय समितिमा क्रियाशील नेता तथा कार्यकर्तागरी १७७ जनालाई श्रम संस्कृति पार्टीमा स्वागत गरिएको जिल्ला अध्यक्ष प्रताप राईले जानकारी दिनुभएको छ । एमालेका केपिलासगढी गाउँपालिका अध्यक्ष सन्तोष राई, सचिव विशाल दुमी राई, जनता समाजवादी पार्टी केपिलासगढी गाउँपालिका समितिका वरिष्ठ उपाध्यक्ष मनकुमार राई तथा एमाले वडा नं. २ खार्ताम्छाका अध्यक्ष डिकबहादुर राई, वडा नं. ४ बाक्सिलाका अध्यक्ष दिनेश राई, वडा नं. ७ सुङ्देलका अध्यक्ष योमन राई, वडा नं. २ खार्ताम्छाका सचिव अर्जुन राई लगायतका नेताहरु श्रम संस्कृति पार्टी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष लोकनाथ चुडाल, महासचिव एवम् प्रतिनिधिसभा सदस्य खोटाङका प्रत्यक्ष उम्मेदवार आरेन राई, समानुपातिक उम्मेदवार सीताराम राई लगायतले स्वागत गरेका छन् । नवप्रवेशी नेता तथा कार्यकर्ताहरुले श्रम संस्कृति पार्टीको सिद्धान्त तथा केन्द्रीय अध्यक्ष हर्क साम्पाङको कार्यशैली मन परेकाले आफूहरु प्रवेश गरेको बताएका छन् ।
श्रम संस्कृति पार्टीका उम्मेदवार आरेनको गृह पालिका केपिलासगढी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरेर श्रम संस्कृति पार्टी प्रवेश गर्नुलाई जिल्लामा निक्कै महत्वका साथ हेरिएको छ । यद्यपि, धेरै नेताहरुले आफ्नो नाम बिना अनुमति पार्टी प्रवेश कार्यक्रममा वाचन गरिएको भन्दै आपत्ती जनाउन थालेका छन् ।
एमाले केपिलासगढी गाउँपालिका समितिका अध्यक्ष सन्तोष राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू एमालेमै रहेको प्रतिक्रिया दिनुभएको छ । कसैप्रति लक्षित नगरी आफ्नो फेसबुक पेजमा स्टाटस लेख्नुभएका अध्यक्ष राई स्वयम्ले नाम वाचन गर्न लगाएपछि एमाले पार्टीका नेताहरुको दबाब थेग्न नसकेर स्टाटस लेख्नुभएको श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष राईले दाबी गर्नुभएको छ ।
जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिका सबै राजनीतिक दलको कार्यकर्ता तानातान गर्ने थलो बनेको छ । गत माघ–२० गते नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले तत्कालीन गाउँपालिका प्रमुख एवम् एमाले पूर्व जिल्ला सचिवालय सदस्य कृष्णकुमार राईसहित विभिन्न तहका नेता तथा कार्यकर्तालाई प्रवेश गराएको थियो ।
यस्तै, एमालेले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जिल्ला सचिव माइतीराज राईलाई यही फागुन–४ गते प्रवेश गराएको थियो । वि.सं. २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा गाउँपालिका प्रमुखका उम्मेदवारसमेत हुनुभएका युवा नेता माइतीराजलाई आगामी निर्वाचनमा सोही पदमा उम्मेदवार बनाउने सर्तसहित एमाले प्रवेश गराइएको समाचार स्रोतले जनाएको छ ।
नेपाली काँग्रेस खोटाङले पनि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का युवा नेता पवन श्रेष्ठलाई प्रवेश गराएको थियो । कोशी प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री एवम् नेकपाका नेता राजन राईको तत्कालीन स्वकीय सचिव श्रेष्ठलाई फागुन–६ गते प्रवेश गराएको हो ।
काँग्रेस खोटाङका उम्मेदवार वीरकाजी राईको समेत गृह पालिका रहेको केपिलासगढी गाउँपालिकामा कार्यकर्ता तानातानमा नेताहरुबीच होटबाजी चलेपछि चुनावी सरगर्मी बढेको छ । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा यही फागुन–२१ ग्ते हुने निर्वाचनका लागि आरेन र वीरकाजीसहित १५ जना नेताहरु उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा होमिएका छन् ।
एमालेबाट देवबिक्रम राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट डा. हरि रोका, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, डा. राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो ।
वि.सं. २०७९ सालको निर्वाचनमा खसेको समानुपातिक मतलाई हेर्दा खोटाङमा एमालेको अवस्था बलियो देखिएको छ तर, यस पटकको अवस्था पहिलेजस्तो नरहेको राजनीतिक विश्लेषकहरुले बताएका छन् । श्रम संस्कृति पार्टी लगायत अन्य नयाँ राजनीतिक दलले जिल्लामा पछिल्लो समय सङ्गठन विस्तार गर्नुका साथै मतदाताले नयाँ विकल्पको खोजी गर्दा ठूला राजनीतिक दलको भोट काटिने देखिएको छ ।


