उपचारमा जाँदै गर्दा जेसिबिले लडाएको ढुङ्गाले लागेर ७१ वर्षीय वृद्धको मृत्यु

Halesi Khabar

खोटाङ, ७ फागुन । जेसिबिले माथिबाट लडाएको ढुङ्गाले लागेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित धाराखोलाका ७१ वर्षीय बलबहादुर राईको मृत्यु भएको छ । सोही नगरपालिकाको वडा नं. ३ च्यास्मिटारस्थित दाल्फुको भित्री सडक निर्माणका लागि लगिएको ना १ क ७३४७ नम्बरको जेबिसिले माथिबाट लडाएको ढुङ्गाले राईको टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।

सडक निर्माण गर्न लगिएको जेसिबि बिहीबार दिउँसो करिब साढे १२ बजेको समयमा निर्माणस्थल नपुगी बिग्रिएपछि मर्मत गरिएको थियो । मर्मतपछि काम सुरु गरेको करिब एक घण्टा नबित्दै जेसिबिले पहिरो पन्छाउनेक्रममा माथिबाट खसालेको ढुङ्गा करिब ४०० मिटर तल बसीरहनुभएका राईको टाउकोमा झरेर लाग्दा उहाँको घटनास्थलैमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

च्यास्मिटारमा घटना भएको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले जेसिबि र चालक उदयपुरको ताप्ली गाउँपालिका–२ लेखगाउँ निवासी २६ वर्षीय केवल मगरलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिनुभएको छ । मृतक राईको शव घटनास्थलको सर्जमिन मुचुल्का गरेर परीक्षणका लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

छोरा÷बुहारीसँग धरानमै बस्दै आउनुभएका मृतक राई केही समयअघि पुख्र्यौली घर च्यास्मिटार आउनुभएको जनाइएको छ । पुख्र्यौली घरमा आएर बसेको समयमा स्वास्थ्यमा सामान्य समस्या आएपछि उपचारका लागि स्वास्थ्यचौकी च्यास्मिटार जाँदै गर्दा राईलाई ढुङ्गाले लागेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

घुम्ती भन्ने ठाउँबाट दाल्फु जोड्ने भित्री सडक निर्माणका लागि मुख्य सडक (मध्यपहाडी लोकमार्ग)बाट नयाँ सडक निर्माणस्थलमा जेसिबि लैजानेक्रममा यसअघि निर्माण गरिएको सडकमा झरेको पहिरो पन्छाउँदा लडेर झरेको ढुङ्गाले लागेर राईको मृत्यु भएको वडाध्यक्ष भूपालसिं राईले जानकारी दिनुभएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत जयराम–हलेसी सडकखण्डबाट छुट्टिने शाखा सडक निर्माण गर्न वडा कार्यालय च्यास्मिटारले रु दुई लाख बजेट विनियोजन गरेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया