खोटाङ, ६ फागुन । जिल्ला अस्पताल खोटाङमा पाठेघर (आङ) खस्ने समस्या भएका महिलाका लागि निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु गरिएको छ । लामो समयदेखि पाठेघर सम्बन्धी समस्या भोग्दै आएका महिलालाई जिल्लामै उपचार सेवा उपलब्ध गराउन अस्पतालले निःशुल्क शल्यक्रियासहितको सेवा सुरु गरेको हो ।
अस्पतालमा पाठेघर सम्बन्धी समस्या भएका महिलाको निःशुल्क शल्यक्रियासहितको सेवा सुरु गरेलगत्तै दुई जना महिलाको सफल उपचार गरिएको अस्पतालका प्रमुख डाक्टर अमिताब ठाकुरले जानकारी दिनुभएको छ । “म यहाँ आएपछि धेरै महिलाको दुःख देखेँ । पाठेघर सम्बन्धी समस्या भएका महिलाका लागि उपचार गर्न काठमाडौँ वा विराटनगर जानुपर्ने बाध्यता रहेछ । अब कुनै पनि महिलाले त्यो बाध्यता व्यहार्नु पर्दैन”, उहाँले भन्नुभयो, “हाम्रो विशेषज्ञता प्रयोग गरेर खोटाङमै निःशुल्क शल्यक्रियासहितको सेवा उपलब्ध गराएका छौँ । जिल्लामै पहिलोपटक यो शल्यक्रियासहितको सेवा निःशुल्क उपलब्ध भएपछि महिलाहरुसमेत हर्षित भएका छन् ।”
अस्पतालमा पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रियासँगै पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार, बाँझोपनको उपचार र पहिलोपटक शल्यक्रियामार्फत सन्तान जन्माएकी महिलाको दोस्रोपटक पनि शल्यक्रिया गर्ने सेवासमेत सुरु गरिएको जनाइएको छ । अस्पतालमा पाठेघर सम्बन्धी समस्याको निःशुल्क उपचार सेवा उपलब्ध भएपछि लामो समयदेखि पीडित भएर घरैमा बसिरहेका महिलाहरु समेत उपचारमा आउन थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
जिल्ला अस्पतालको आफ्नै स्रोत तथा साधन उपयोगमा ल्याएर पाठेघर सम्बन्धी समस्या भएका महिलालाई शल्यक्रियासहितको सुरक्षित र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन थालिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिनुभएको छ । “जिल्लामा स्त्री रोग विशेषज्ञ नहुँदा धेरै महिला रोग लुकाएर तथा बाहिर गएर उपचार गराउनुपर्ने बाध्यतामा थिए । यो समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न मन्त्रालयबाट विशेषज्ञ चिकित्सक झिकाएका छौँ”, उहाँले भन्नुभयो, “यो जिल्लाका लागि खुशीको कुरा हो । अब कुनै पनि महिलाले उपचार नपाएर अकालमै ज्यान गुमानुपर्ने छैन ।”
दश स्थानीय तह रहेको जिल्लामा यसअघिसम्म पाठेघरको समस्या भएका महिलाको शल्यक्रिया सेवा उपलब्ध नहुँदा अन्य जिल्ला पठाउने गरिएको थियो । अस्पताल जाने÷आउने, उपचार गर्ने, खाने र बस्ने खर्च सम्बन्धित स्थानीय तहले उपलब्ध गराउनेगरी पाठेघर खसेका महिलालाई निःशुल्क उपचार गराउन राजधानी काठमाडौँ लगायतका सुविधायुक्त अस्पताल पठाउने गरिएको हो ।
भर्खरैमात्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाले पाठेघर सम्बन्धी समस्या भएका महिलालाई शिर मेमोरियल अस्पताल बनेपा लगेर निःशुल्क शल्यक्रियासहितको उपचार गराएको थियो । दुवै नगरपालिकाले गाडी रिजर्भ गरेर १८÷१८ जना महिला तथा एक÷एक जना कुरुवालाई बनेपा लगेर निःशुल्क शल्यक्रियासहितको उपचार गराएको हो ।
लाज, डर र अज्ञानताका कारण पाठेघरमा भएको समस्या बाहिर ल्याउन नरुचाउने जिल्लाका महिला पछिल्लो केही समयदेखि खुलेर आफ्नो समस्या भन्न तथा उपचार गराउन थालेका छन् । जिल्लाका विभिन्न स्थानीय तहले अहिले पाठेघर सम्बन्धी समस्या भएका महिलाहरु खोजीखोजी निःशल्क उपचार गराइरहेका छन् ।
करिब तीन वर्ष अगाडि जिल्लाका स्थानीय तहहरुले पाठेघरको समस्या भएका महिलाको निःशुल्क उपचारका लागि शिविर सञ्चालन गर्दा महिलाहरु खासै सहभागी हुँदैन थिए । तर, अहिले सबै महिला आफ्नो पाठेघरको परीक्षण तथा उपचारका लागि खुलेर स्वास्थ्य संस्था आउन थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको आर्थिक तथा प्राविधिक सहयोगमा खोटाङका दशवटै स्थानीय तहले पाठेघरको समस्या भएका महिलाको निःशुल्क शल्यक्रियासहितको उपचार गराइरहेका छन् । पाठेघर खसेको पहिलो र दोस्रो चरणसम्मका समस्या भएका महिलाको स्थानीयस्तरमै उपचार गर्ने गरिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।


